काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले निक्षेप वृद्धि गर्न सकेन । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप परिचालनमा १२.२९ प्रतिशतले गिरावट व्यहोरेको यो बैंकले खूद नाफातर्फ भने कमालको प्रगति गरेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले समीक्षा अवधिमा १ अर्ब ५१ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको हो, जबकि अघिल्लो वर्ष यही अवधिमा यो बैंकको नाफा १ अर्ब ६ करोडमा सीमित थियो । निकै  राम्रो ब्याज आम्दानी र ब्याज खर्चतर्फको लोभलाग्दो नियन्त्रणले यो बैंकको समग्र आम्दानी बढेको देखिन्छ । 

यसरी खूद नाफातर्फ करिब ४२ प्रतिशतको छलाङ मारे पनि चुक्तापूँजीमा भएको भारी वृद्धिका कारण प्रतिसेयर आम्दानी भने निकै घटेको छ ।

अघिल्लो वर्ष यही अवधिमा ३७.८४ रुपैयाँ रहेको वार्षिकीकृत इपीएस घटेर २५.१२ रुपैयाँमा सीमित भएको हो । 

बैंकले समीक्षा अवधिमा ६१ अर्ब १ करोड निक्षेप संकलन गरी ४६ अर्ब ४० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६९ अर्ब ५६ करोड निक्षेप संकलन गरी ३७ अर्ब ३५ करोड कर्जा परिचालन गरेको छ । यसरी हेर्दा बैंकको  निक्षेप परिचालन खुम्चिएको वर्ष कर्जा परिचालन भने केही बिस्तार भएको देखिन्छ ।

व्यवसाय बिस्तारका कारण बैंकको खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब ५५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब २३ करोडको उचाईमा पुगेको हो ।

यस्तै, १ अर्ब ६१ करोडको सीमित संचालन मुनाफा पनि बढेर २ अर्ब ३१ करोडको उचाईमा पुगेको छ ।

बैंकले ०.२३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.२१ मा झारेको छ भने रिजर्बकोषमा पनि सन्तोषजनक प्रगति नै गरेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ४ अर्ब ८३ करोड रहेको रिजर्ब बढेर यो वर्ष ५ अर्ब ३६ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्डको प्रतिसेयर नेटवर्थ १६६.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.०३ गुणा तथा इक्वीटीमा प्रतिफल १६.९७ प्रतिशत रहेको छ ।