काठमाण्डौ । एनआइसी एशिया बैंक २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ। 

देशकै सबैभन्दा वृहत शाखा सञ्जाल रहेको यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ खर्ब ५४ अर्ब निक्षेप संकलन गर्ने सफलता पाएको हो । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेकका अन्य कुनै पनि वाणिज्य बैंकले निक्षेप संकलनमा एनआइसी एशियालाई उछिन्न नसकेका देखिएको छ । 

समीक्षा अवधिमा एनआइसी एशियाले १ खर्ब ४१ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

आक्रामक रुपमा शाखा सञ्जाल बिस्तारमा लागेकै कारण एनआइसी एशिया निक्षेपको मामलामा सबैलाई टप्दै अगाडि बढेको हो । हाल यो बैंकको देशभर २८३ शाखा छन् । 

अघिल्लो वर्षको तुलनामा निक्षेप १०.४२ प्रतिशतले बढेको देखिएको छ भने कर्जातर्फ २२.२४ प्रतिशतको प्रगति भएको छ । 

एनआइसी एशिया बैंकले नेपालको डिवेञ्चर मार्केटमा सबैभन्दा ठूलो हिस्सा ओगट्छ । एकपछि अर्को गर्दै डिवेञ्चर निश्कासन गरेकै कारण बैंकले त्यसका लागि डिवेञ्चर रेडेम्सन फण्डमा समेत नाफाबाट रकम छुट्याउनु पर्दा समेत नाफामा १४५.४१ प्रतिशतको छलाङ मारेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ९२ करोड ७६ लाखमा सीमित नाफालाई बढाएर २ अर्ब २७ करोडको उचाई चुमाएको छ । 

संभावित कर्जा नोक्सानीबापत ९४ करोड ९७ लाख रकम छुट्याउँदा समेत एनआइसी एशियाको खूद नाफामा भएको यो बढोत्तरी उत्साहजनक देखिन्छ । 

बैंकको अघिल्लो वर्ष यही अवधिमा १ अर्ब २९ करोडमा सीमित संचालन मुनाफा समेत बढेर ३ अर्ब २२ करोडको उचाईमा पुगेको छ । 

बैंकले अघिल्लो वर्षको तुलनामा व्यवसाय बिस्तारमा आक्रामक मुभ लिएका कारण खूद ब्याज आम्दानी समेत १००.५० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ अर्ब ६५ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष ५ अर्ब ३२ करोडको उचाईमा पुगेको हो । 

यस्तै, २ अर्ब ६९ अर्बमा सीमित रिजर्बकोषको आकार बढाई ४ अर्ब ५ करोडको उचाई टेकाएको छ भने रिटेन अर्निङ ९४ करोड ३६ लाखबाट बढेर १ अर्ब ३९ करोड पुगेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ०.२२ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ०.४५ प्रतिशत पुगेको छ भने ७.८४ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.०९ प्रतिशतमा सीमित भएको छ । 

समीक्षा अवधिमा बैंकले आधार दरलाई घटाएर एकल विन्दूमा सीमित पार्ने सफलता पाएको देखिएको छ । यो अवधिमा बैंकको आधार दर ९.३० प्रतिशत मात्र रहेको छ । 

यो बैंक वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्याउन सफल देखिएको छ । 

बैंकले यस आर्थिक वर्षमा ३३.५प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु.२२८ अर्ब १९ करोड पुर्याएको छ । 

लाभांश क्षमता कति ?
बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ। 

वितरणयोग्य मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायमै रहेमा र सो बेलासम्म नियामकीय व्यवस्थाका लागि थप दायीत्व सिर्जना नभएमा बैंकले १ अर्ब ४० करोड बढी नै यस्तो नाफा आर्जन गर्ने छ । 

हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ८३ करोड रुपैयाँ छ । यसको अर्थ बैंकले १५ प्रतिशत भन्दा माथिकै लाभांश दिनसक्ने देखिन्छ । 

एनआइसी एशिया बैंकको पूरा वित्तीय विवरण तल राखिएको छः