काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा व्यक्तिगत मुद्दति निक्षेपमा निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ। 

नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै निफ्रामा यो व्यवस्था थप गरेको हो। अब निफ्राले कुनै व्यक्तिगत मुद्दति निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको प्यान अनिवार्य रुपमा लिनुपर्नेछ। 

यसैगरी संशोधित निर्देशिकामा निफ्राले जारी गरेको बैंक जमानत (बैंक ग्यारेन्टी)को भेरिफिकेसन आफ्नो वेबसाइट तथा पोर्टलमार्फत गर्न सक्ने व्यवस्था पनि थप गरेको छ। यसअघि यो व्यवस्था पनि थिएन। 

त्यस्तै निफ्राले कर्मचारीको छनौट, सरुवा, बढुवा तथा पदस्थापन गर्दा तालिमलगायत सर्टिफिकेसन कोर्स लिएको भएमा त्यस्तो विशेष योग्यतालाई समेत आधारका रुपमा लिनुपर्ने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ।