-अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नियमितविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको छ । 

‘बीमा ऐन, २०७९’ को व्यवस्थाविपरीत बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको खुलेको हो । 

प्राधिकरणको यो गैरकानूनी कामलाई नेपाल धितोपत्र बोर्डले समेत नजरअन्दाज गर्दै धमाधम बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिएको देखिएको छ। 

बीमा ऐन, २०७९को दफा ४५को उपदफा ५मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको सतप्रतिशत रकम माग गर्नुपर्ने’ व्यवस्था छ। तर, यो व्यवस्थाविपरीत बीमा प्राधिकरणले सिटिजन लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ र सन–नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको थियो। यी कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेर पैसा उठाइसकेका छन्। 

यी सबै कम्पनीको सेयर हाल दोस्रो बजारमा कारोबारसमेत हुन थालेको छ । 

त्यसो त बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै धितोपत्र बोर्डले थप कागजपत्र अध्ययन गरेर बीमा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिनुपर्ने हुन्छ। तर, धितोपत्र बोर्डले पनि बीमा प्राधिकरणको फाइललाई बिनाअध्ययन नै ती कम्पनीहरुलाई धमाधम प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएको देखिन्छ । 

राष्ट्र बैंकको पछिल्लो नीतिले अहिले सेयर बजार शिथिल बनेको छ। यस्तो बेला धितोपत्र बोर्डले धमाधम प्रिमियममा आईपीओ निष्कासन र कमजोर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्ताहरुले चर्को आलोचना गरिरहेका छन्। जथाभावी सेयर निश्कासनको अनुमति दिएर आपूर्ति बढाई बजारलाई झनै प्यानिक बनाएको उनीहरुको आरोप छ। 

काठमाण्डौमा आज भेला भएका सेयर लगानीकर्ताहरुले बीमा प्राधिकरण र धितोपत्र बोर्डको यो नियमविपरीत कार्यविरुद्ध अदालत जाने निर्णय गरेका छन्। ‘बीमा ऐनमा प्रस्ट रुपमा फेस भ्यालु अर्थात् १०० रुपैयाँमा मात्रै आईपीओ निष्कासन गर्न पाउने नियम छ’, अगुवा लगानीकर्ता तिलक कोइरालाले भने, ‘अर्थात्, बीमा कम्पनीहरुले १०० रुपैयाँभन्दा बढी अथवा घटीमा आईपीओ निष्कासन गर्न पाउँदैनन्। तर, बीमा प्राधिकरण र धितोपत्र बोर्डले यो नियम मिचेर धमाधम बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको अनुमति दिएका छन्। जनता लुट्ने काम भयो यो त ।’

अर्का अगुवा लगानीकर्ता केशव कोइराला (काका)ले पनि यो नियमविपरीत कार्यविरुद्ध सोमबार अदालतमा मुद्दा दायर गरिने बताए। ‘हामीले अहिले वकिललाई मुद्दाको कागज तयार गर्न लगाइरहेका छौँ’, उनले भने, ‘हामीले बीमा प्राधिकरण र प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा धितोपत्र बोर्ड र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालविरुद्ध मुद्दा दायर गर्ने छौँ।’

प्रिमियममा आईपीओ बिक्री गरेका ती बीमा कम्पनीहरुले प्रिमियममा उठाएको पैसा लगानीकर्ताहरुलाई फिर्ता गर्नुपर्ने माग पनि लगानीकर्ताहरुको छ । 

धितोपत्र बोर्डको पाइपलाइनमा रहेको हिमालयन रि–इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ गर्न माग गरेको छ। तर, लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सलाई बीमा ऐनविपरीत प्रिमियममा आईपीओ निष्कासन गर्न दिन नहुने माग गरेका छन् ।