काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १९.०६ अंकले घटेर १ हजार ८८९.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले घटेर ३६१.३१ को विन्दुमा ओर्लेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २८२ कम्पनीका ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा कारोबार भएका छन्।
आजको बजार घटाई बारे बजार जानकार अजयसिंह थापा(जयसम्भु) ले आज बजार दुई तीन ओटा कारणले गर्दा खेरी घटेको बताउँछन् ।
उनी भन्छन्, ‘विदेशमा जारी युद्धका कारण र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिजो दिएको अन्तरवार्ताले गर्दा लगानीकर्तामा सेन्टिमेन्ट राम्रो भएन, लगानीकर्ताले नजिकिंदै गरेको चाडपर्वका लागि खर्च निकालेको पनि हुनसक्दछ, यद्यपि बजार १ हजार ८५० भन्दा तल पक्कै जाँदैन, यो नै अन्तिम हो भन्ने चाहिं छ, किनकि दसैं अगाडि धेरै कारोबार दिन पनि छैन ।’
यसैगरी शाइन रेसुंगा डेभलपमेन्टका सञ्चालक विरेन्द्र विष्ट पनि बजार अव धेरै नघट्ने बताउँछन् । उनले राष्ट्र बैंककै नीतिमा लगानीकर्ता असन्तुष्ट हुँदा बजार घटेको बताए ।
उनी भन्छन्, ‘यही महीनाको २७/ २८ गतेसम्ममा नयाँ ब्याजदर पनि आउँछ र ब्याजदर बढ्ने सम्भावना पनि छैन,बरु थप घटेरै आउन सक्दछ ।यसकारण बजार एक/दुई दिनमा सम्हालिन सक्छ ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन हाइड्रोपावर समूह सर्वाधिक १.७९ प्रतिशतले ओरालो लागेको छ। त्यसपछि निर्जीवन बीमा समूह १.६९ प्रतिशतले घटेको छ भने तेस्रोमा होटल एन्ड टुरिजम समूहमा १.५८ प्रतिशतले घटेको छ। त्यसपछि जीवन बीमा समूह १.०६ प्रतिशतले ओरालो लागेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सानीमा जीआईसी इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३४करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ भने एनआईसी एशिया बैंकको ३० करोड २९ लाख रुपैयाँ, शिबम सिमेन्टको २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज अप्पर लोहोरे खोला हाइड्रोका सेयरधनीहरुले धेरै कमाएका छन्। यो हाइड्रोपावरको सेयरभाउ ५.८६ प्रतिशत बढीले उकालो लागेको छ। यसैगरी इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.१९ प्रतिशतले बृद्धि भएको छ।
यो दिन बाराही हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ७.६४ प्रतिशत बढीले ओरालो लागेको छ।
तयसैगरी यो दिन दोस्रोमा गरिमा डिबेन्चरको इकाई ५.८३ प्रतिशतले ओरालो लागेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19