काठमाण्डौ । पूर्व बैंकर तथा विश्लेषक पर्शुराम कुँवर क्षेत्रीले केही नीतिगत दरहरुलाई घटाउँदैमा बैंकहरुको ब्याजदर नघट्ने दाबी गरेका छन् । 

राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो समीक्षामाथि टिप्पणी गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

'बैंकदरलाई ७.५ प्रतिशतबाट ७, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट ३ प्रतिशतमा घटाइएको छ ।' क्षेत्रीले भनेका छन्-'जबसम्म मौद्रिक नीतिगत दरहरुको प्रभावकारी सम्प्रेषण हुने गरी सम्पूर्ण ब्याजदर प्रणालीलाई समीक्षा गरिँदैन, यस्ता केन्द्री बैंकका ब्याजदरहरुमा भएका परिवर्तनहरु बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरहरुम प्रतिबिम्बित नहुने सम्भावना उच्च हुन्छ ।' 

उनले केही नीतिगत दरहरु घट्दैमा ब्याजदर नघट्ने दृष्टान्त समेत पेश गरेका छन् । २०८० साउन ७ गते आर्थिक वर्ष २०८० ८१ का लागि घोषित मौद्रिक नीतिमार्फत नीतिगत दर ७ बाट ६.५ प्रतिशतमा घटाइएको थियो, तर बैंकहरुले ब्याजदर घटाउनुको साटो बढाएका थिए । परिणामतः २०८० साउनमा वाणिज्य बैंकहरुको बचत निक्षेपको औसत ब्याजदर ५.३१ प्रतिशत र मुद्दति निक्षेपको औसत ब्याजदर ९.९७ प्रतिशत रहेकोमा क्रमशः बढ्दै २०८० आश्विसमा ५.९४ प्रतिशत र १०.२६ प्रतिशत पुगेको छ ।  

'नेपालमा पछिल्लो समय मौद्रिक नीतिका दरहरु एकातिर र बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर अर्कोतिर हुने गरेको समेत उनको टिप्पणी छ । तर यस्तो भएको यो पहिलोपटक भने होइन ।' उनले थपेका छन्-'२०७९ साउन ७ गते आर्थिक वर्ष २०७९ ८० का लागि घोषणा गरिएको मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दर १.५ प्रतिशतले बढाएर बैंकदर ८.५ प्रतिशत र नीतिगत दर ७ प्रतिशत पुर्याइएको थियो । तर, बैंक तथा वित्तीय संस्थाहरुले २०७९ कात्र्तिक १ गतेबाट मात्र निक्षेपको ब्याजदर बढाएकाथिए । त्यो पनि केन्द्रीय बैंकका उच्च अधिकारीहरुको नैतिक दवाबपछि मात्र ब्याजदर बढाउनुपरेको कुरा केही बैंकका साथीहरुले बताएका थिए ।'