काठमाण्डौ ।निर्यातको तुलनामा आयात उच्च हुँदा नेपालले उच्च घाटा व्यहोर्नुपरेको छ ।
सन् १९५० को दशकमा दुई छिमेकी देश भारत र चीन तिब्बतसँगको व्यापारदेखि सन् २००४ मा विश्व व्यापार संगठन(डब्लूटीओ) को सदस्य देश भएपछि पनि निर्यात गर्ने वस्तु संरचनामा खासै परिवर्तन आएको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन र भदौ महिनाको अवधिमा मुलुकको व्यापार घाटा सवा २ खर्ब माथि पुगिसकेको छ।आर्थिक वर्षको दुई महिनामा कुल वस्तु व्यापार घाटा ४.७ प्रतिशतले कमी आई रु. २ खर्ब ३३ अर्ब ३० करोड भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९.४ प्रतिशतले घटेको थियो।यो दुई महिनामा कुल वस्तु निर्यात ७.८ प्रतिशतले कमी आई रु.२६ अर्ब ४५ करोड भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४.९ प्रतिशतले कमी आएको थियो।
यी महिनामा कुल वस्तु आयात ५.१ प्रतिशतले कमी आई रु.२५९ अर्ब ७५ करोड भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले कमी आएको थियो।
आव २०७८/७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ भएको थियो । त्यसैगरी, आव २०७९/८० मा साढे १४ खर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।नेपालको वार्षिक बजेट चाहिँ कुल वैदेशिक व्यापारकै हाराहारी अर्थात् करिब साढे १७ खर्ब रुपैयाँको छ।
भन्सार विभागका अनुसार नेपालले विश्वका १७० भन्दा धेरै देश तथा भौगोलिक क्षेत्रहरूसँग व्यापार गर्ने गरेको छ । तर तीमध्ये केवल ३८ देशसँग मात्र नेपालको व्यापार नाफामा छ।
दक्षिण एशियामा चाहिं नेपालको व्यापार अफगानिस्तान र माल्दिभ्ससँग मात्र नाफामा रहेको छ । अझ भन्ने हो भने छिमेकी मुुलुक चीन र भारतसँगको व्यापार घाटा त वर्षेनी बढ्दै गएको छ । विभागका अनुसार नेपालको व्यापार घाटा चीनसँग सवा २ खर्ब र भारतसँग सवा ९ खर्ब रुपैयाँको छ।
कतिपय अर्थशास्त्रीहरु वस्तु व्यापारमा नेपालको प्रतिस्पर्धी क्षमता कमजोर देखिएको बताउँछन् ।नेपालबाट मूख्य गरी पामतेल, धागो, ऊनी गलैंचा, अलैंची, हस्तकलाका सामग्री, तयारी पोशाक, पश्मिना, फलाम, भटमासको तेल, कुकुर बिरालाको आहारा निर्यात हुने गरेका छन् ।
वस्तु व्यापारमा लगातार घाटा व्यहोरिरहेको नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले साहरा दिएको छ । आव २०७९/ ०८० मा नेपाली कामदारहरूले कीर्तिमान स्तरमा १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्सको रूपमा देश भित्र्याए।जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.२ प्रतिशतले बढी हो।
मुलुकमा प्रशस्त स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना गर्न सकिने भए पनि सरकारले त्यतातिर ध्यान दिन नसक्दा व्यापार घाटा चुलिएको हो । स्वदेशी उत्पादनलाई अनुदान दिएर भए पनि आयात प्रतिस्थापन गर्नुपर्ने आवश्यक देखिन्छ ।
मुलुकमा उपभोग, निर्माण तथा औद्योगीकरण बढ्दै जाँदा सम्बन्धित वस्तुको आयात तीव्र उच्चदरमा बढेको छ। व्यापार घाटा कम गर्न र आयात–निर्यातबीच सन्तुलन कायम राख्न उत्पादन क्षमता बढाउनुबाहेक मुुलकका लागि अर्को विकल्प छैन। आयात कम गर्न र निर्यात बढाउन उत्पादनमूलक उद्योगभन्दा र कारखना स्थापना र विकास हुनु अनिवार्य रहेको विज्ञहरुको भनाइ छ।
उनीहरुका अनुसार मुलुकमा आयात बढ्यो भन्नुभन्दा पनि केकस्ता वस्तुको आयात बढ्न गएको छ भन्नेबारेमा सरकार चनाखो हुन जरुरी छ। तसर्थ कृषिजन्य उपभोग्य वस्तुको आयातबाट डराउनुपर्ने स्थिति एकातिर छ भने निरन्तर बढ्दै गएको व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई नै जोखिम दिशातर्फ उन्मुख गराउने त होइन ?
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago