-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार एक दिन मात्रै बढ्यो भने चार दिन लगातार घट्यो ।

अघिल्लो साता १ हजार ८६०.२० मा बन्द भएको बजार यो साता १ हजार ८५८.५३  मा बन्द भएको छ । यस हिसावले यो साता सेयर बजारमा जम्मा १.६७ अंकले गिरावट आएको छ । यो साता दोस्रो बजारमा ७.३८ अर्ब रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो साता यस्तो चार दिन मात्रै  बजार खुल्दा ४.४८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो।

यस हिसावले यो साता नेप्से सूचकमा गिरावट आयो भने कारोबार चाहिं बढ्न पुग्यो । यो साता बजार बढेर १ हजार ९२७ सम्म पुगेको थियो । तर अन्तमा बजार घटेर १ हजार ८५८.५३ अंकमा बन्द भयो । यो साता बजार पूँजीकरण २८ खर्व ६५ अर्व रुपियाँ पुगेको छ । 
प्राविधिक पक्ष :
क्यान्डल स्टिकको आधारमा 
क्यान्डल स्टिकको इतिहास हेर्ने हो भने सबैभन्दा पहिला
 यसको सुरुवात जापानमा १८औं शताब्दिबाट भएको पाइन्छ । १८औं शताब्दिमा म्युनिहोसा होमा नाम गरेका एक धान व्यापारिले क्यान्डल स्टिकको प्रतिपादन गरेका थिए ।

त्यसपछि १९औं शताब्दिमा पश्चिमा राष्ट्रहरुले फिवोनाकी विश्लेष्ण सहित यसको थप विकास गरेको थिए । हाल संसारभर फिवोनासी विश्लेषणसहित क्यान्डल स्टिकको प्रयोग सेयर बजार, डेरिभेटिभ बजार, क्रिप्टोकरेन्सिमा गर्ने गरिन्छ ।  

क्यान्डल स्टिकको आधारमा हालको बजारलाई विश्लेषण गर्नुपर्दा अघिल्लो दुई साता अनिर्णयको अवस्थामा रहेको बजारले यो सातामा पनि खासै कुनै निर्णय गरेको अवस्था छैन । यो साता नेप्सेको चार्टमा ग्रेभ स्टोन डोजीको आकृती बनेको छ । यो भनेको  अंग्रेजीको अक्षर ‘टी’ लाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभ स्टोन डोजी भनेर बुझिन्छ । यदि सेयरको सुरु, न्यून र अन्तिम मूल्य बराबर र अधिकतम मूल्य बढी भएमा यस्तो आकृती बन्छ । यो आकृतीले क्रेताले प्रभावमा राखेको बजारलाई संकेत गर्छ ।

किनकि कारोबारको समयमा मूल्य बढ्दै गएको तर अन्तिममा बिक्रेताले बजारलाई प्रभावमा राखेको बुझिन्छ । लामो सयमको वियरिस बजार अर्थात् रातो मैनबत्ति पछि यस्तो आकृती देखा परेमा बजारमा आगामी दिनमा बजारमा खरिद चाप पर्न सक्ने संकेत गर्छ ।

यस विपरित यदि लामो समय बुलिस बजारपछि यस्तो आकृती देखा परेमा भने बजार घट्न सक्ने संकेत गर्छ । हाल वियरिस बजारपछि यस्तो आकृती देखा परेकोले बजारमा खरिद दबाब आउन सक्ने देखिन्छ । तर यसको निक्र्यौलको लागि भने आगामी क्यान्डलमा नै भर पर्छ । 

हेर्नुहोस माथिको तस्बिरमा

बोलिङगर ब्यान्ड म्याक्डी र आरएसआई :
साप्ताहिक रुपमा नेप्सेको चार्टलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा लोवर ब्यान्डमा बजार चलेको देखिन्छ भने मूल्य रेखाले तल्लो ब्यान्डलाई छोड्दै गएको देखिन्छ । यदि बजार आगामी कारोबारमा  मध्यब्यान्ड अर्थात् १ हजार ८९० भन्दा टिकेर कारोबार हुन्छ भने बोलिङग ब्यान्डमार्फत् बजारमा इन्ट्रीको सम्भाबना रहन्छ । म्याक्डीमार्फत् हेर्दा अगष्ट महिनामा बनेको वियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ ।

तर हिस्टोग्राम फिक्का र छोटो छोटा  हुँदै गएका छन् । आरएसआई हाल ४० को तहमा रहेको छ । यदि आगामी कारोबारमा यो पनि बढेर ५० भन्दा माथि पुग्छ भने बजारले अप ट्रेन्ड लिंदै गरेको मान्न सकिन्छ । समग्रमा तीन वटै  इन्डिकेटरबाट हेर्दा बजारले प्रष्ट कुनै संकेत दिएको छैन । हाल बजार साइडवेजमा चलिरहेको देखिन्छ । 

पिभट् प्वइन्ट :

पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ । 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –१९४०
प्रतिरोध २ –१९०६
प्रतिरोध १– १८८३
पिभट प्वइन्ट : १८४५

घटेमा सपोर्ट :
सपोर्ट १– १८२६
सपोर्ट २– १७९३
प्रतिरोध ३ –१७७०


निष्कर्ष : लगातार दुई साता इन्भर्टेड ह्याम्मर बनाएको बजारले यो साता ग्रेभ स्टोन डोजी बनाएको छ । यो आँफैमा प्रष्ट कुनै संकेत होइन । यद्यपि बजार  न्यून विन्दुमा रहेका कारण बजारमा बिक्री दबाब कम हुँदै गएको मान्न सकिन्छ । यसलाई बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआईमार्फत् नियाल्दा भने विस्तारै बजार सम्हालिन खोजेको जस्तो देखिन्छ ।

यसको कन्फरमेसनको लागि बजार बोलिङगरको मध्यब्यान्ड अर्थात् १ हजार ८९० भन्दामाथि बजार टिकेको अवस्थामा बजारले माथिको यात्रा तय गर्न सक्छ । अन्यथा बजार केहि समय यहि साइडवेजमा पनि चल्न सक्छ । 
 (नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन । )