-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भयो । पाँच दिनमा बजार तीन दिन घट्यो भने दुई दिन मात्रै बढेको छ । अघिल्लो साता १ हजार ८५८.५३ मा बन्द भएको बजार यो साता १ हजार ८५२.७७ मा बन्द भएको छ ।

यो हिसावले यो साता दोस्रो बजारमा ५.७६ अंकले गिरावट आयो । यो साता दोस्रो बजारमा ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तो कारोबार अघिल्लो साता ७ अर्ब ३८ करोड मात्रै भएको थियो । यस हिसावले यो साता दोस्रो बजारमा नेप्से परिसूचक घट्यो भने सेयर कारोबार बढेको छ ।

यो साता बजार पूँजीकरण २८ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । यस्तो बजार पूँजीकरण अघिल्लो साता २८ खर्ब ६५ अर्ब रुपियाँ रहेको थियो । 

प्राविधिक पक्ष : 

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेजका आधारमा बजारको अवस्था नियाल्दा यदि मूल्यरेखाभन्दा ५० दिने र २०० दिने मुभिङ रेखाहरु तल झरेमा बजारमा बिक्रीचाप तथा सो रेखाभन्दा माथि गएमा बजार खरिदचाप परेको  बुझिन्छ। गएको ३ महिना अघि देखि मुभिङ एभरेज रेखाले मूल्य रेखालाई काटेर तल झरेको छ। यसले बजारमा बिक्रीचाप परेको देखिन्छ ।

(हेर्नुहोस माथिको तस्बिर)
बोलिङगर ब्यान्ड म्याक्डी र आरएसआई :


यो साताको बजारलाई बोलिङगर ब्यान्ड मार्फत हेर्दा लगातार ५ वटा नै कारोबारमा बजारले मध्य ब्यान्ड अर्थात् १ हजार ८६० आसपास प्रतिरोध सामना गरेको देखिन्छ ।

अर्थात् साताभर नै बजारले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ । यदि आगामी कारोबारमा बजार यहाँबाट माथि लाग्छ भने बजार अप ट्रेन्डमा चल्न सक्छ ।

म्याक्डी मार्फत् हेर्दा एमएसीडी लाइन र सिग्नल लाइन नजिक नजिक हुँदै गएको देखिन्छ । तर साताको अन्तिम कारोबारमा  हिस्टोग्राम पोजिटिभ भएको छ । आरएसआई मार्फत् कुनै समय ओभर सोल्ड जोन अर्थात् ३० भन्दा तल भएको यस्तो विन्दु हाल ४४ को तहमा पुगेको छ । समग्रम तीन वटै इन्डिकेटर मार्फत् हेर्दा बजार विस्तारै घट्न रोकिएर सम्हालिएको देखिन्छ । 

पिभट् प्वइन्ट :

पिभट विश्लेषणले भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानेर यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्ने गर्दछ । 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –१९८१
प्रतिरोध २ –१९५३
प्रतिरोध १– १९०६
पिभट प्वइन्ट : १८७८

घटेमा सपोर्ट 
सपोर्ट १– १८३१
सपोर्ट २– १८०३
प्रतिरोध ३ –१७५५

निष्कर्ष : यो साता पनि सेयर बजारमा खासै ठूलो उत्तार चढाव भएको छैन । बजार साताभरमा करिब ६ अंकले मात्रै गिरावट आयो ।

यो साता ५ दिन  सेयर कारोबार भएकोमा अघिल्लो साताको तुलनामा सामान्य बढ्यो । विभिन्न इन्डिकेटर बोलिङगर ब्यान्ड मार्फत् बजारलाई नियाल्दा यो साता ५ दिन कारोबार दिननै बजारले मध्य ब्यान्ड अर्थात् १ हजार ८६० मा कडा प्रतिरोध र १ हजार ८३१ मा बलियो सपोर्ट लिएको देखिन्छ । यदि आगामी कारोबारमा  बजार माथि गएमा बजार पिभट् प्वइन्ट १ हजार ८७८ भन्दा माथि बन्द हुनपर्ने छ । अझ राम्रो १ हजार ९०० भन्दा माथि टिकेमा हुने छ । 

यदि तल गयो भने पनि यो साताको बलियो सपोर्ट १ हजार ८३१  भन्दा तल जानु पर्ने छ । हाल कुनै प्रष्ट बाटो तय नगरिसकेको बजार कता जान्छ भन्ने विषय यीनै विन्दु मार्फत् आगामी कारोबारबाट निधारण हुन सक्ने छ । 

 (नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)