-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । नेपाल स्टक एक्सेचेञ्ज(नेप्से) को सञ्चालक समितिले नेप्से पुनरसंरचना गर्ने अजेण्डालाई पारित गरेको छ ।

हाल १ अर्ब रुपैयाँ मात्रै पूँजी रहेको यो कम्पनीमा अब २ अर्ब रुपैयाँ बराबरको पूँजी थपिने छ । जसमा ९० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिने छ । यो भनेको थप पूँजीको ३० प्रतिशत हो । 

जसमा विदेशी साझेदार र  स्वोदेशी लगानीकर्ताहरुसहित गरेर कम्पनीको चुक्तापूँजी ३ अर्ब रुपैयाँको हुने नेप्सेका प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्कीले बताए । 

सार्वजनिक लेखा समितिले नेप्सेलाई बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको पनि उनले बताए ।
नेपाल धितोपत्र बोर्डले  नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रस्ताव गरेसँगै नेपाल स्टक एक्सचेञ्ज पनि यहि माहोलमा आफूलाई पुनरसंरचना गर्ने तयारि गरिरहेको छ ।

हालै मात्र नेप्सेमा नयाँ अध्यक्षको रुपमा शोभाखर पौडेल आएसँगै पुनरसंरचनाको काम अगाडि बढेको पनि  सीईओ कार्कीले बताए । अबको पुनरसंरचनामा नेप्सेको प्रस्तावित पूँजीगत संरचना यस्तो हुने छ ।

जसअन्तरगत  नयाँ प्रस्तावमा सरकारको १९.५५ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३.१७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.७४ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३.३३ प्रतिशत, लक्ष्मीसनराइज बैंकको १.६७ प्रतिशत, प्रभु बैंकको १.६७ प्रतिशत र अन्य संस्थापकहरूको ०.२ प्रतिशत सेयर हुने भनिएको छ।
 

यसैगरी, सरकारको सेयर विनिवेश गर्दै गर्दा कस–कसलाई सेयर दिन सकिन्छ भनेर समेत प्रस्तावमा लेखिएको छ।

जसमा नेपाल पुनर्बीमा कम्पनी, जीवन तथा निर्जीवन कम्पनीलाई १३.३३ प्रतिशत, वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकहरुलाई १३.३३ प्रतिशत, सरकारी स्वामित्वका संस्थानहरूलाई १० प्रतिशत दिन सकिने प्रस्तावमा उल्लेख छ ।

सरकारले उक्त प्रस्तावलाई पास गरेपछि मात्रै नेप्सेको पुनरसंरचनाको काम अगाडि बढ्ने छ । हालको व्यवस्थामा नेपाल सरकारको ५८.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११.२४ प्रतिशत, नेपाल राष्ट्र बैंकको ९.५ प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत,लक्ष्मीसनराइज बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व छ । 
संशोधन गर्नु पर्ने यस्तो छ कारण : 
नेप्सेले बताए अनुसार प्रचलित कानूनको व्यवस्था तथा बजारको आकारको आधारमा नयाँ पुँजी संरचना बनाइएको हो ।

नेप्सेको सेयर स्वामित्वमा सर्वसाधारणको सहभागिता तथा स्वदेशी संस्थागत सहभागिताले पूँजी, प्रविधि र व्यवस्थापकीय क्षमतासहित विदेशी साझेदार भित्र्याउन लागिएको नेप्सेले बताएको छ ।