काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा आह्वानको निर्णय गरेको हो । 

बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान १०ः३० बजे वेभिनारमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँबराबरको नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा प्रस्तावित बोनस सेयर कार्यान्वयन गर्न एवंम भविष्यमा सम्भावित पूँजी सम्बन्धी आवश्यकता समेतलाई दृष्टिगत गरी प्रबन्धपत्रको दफा(८)र नियमावली को नियम(४)मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी ७ अर्ब र जारी पूँजी ६ अर्ब पुर्याउने विशेष प्रस्ताव पारित गरिने उल्लेख छ । 

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा सम्न्धित निकायबाट फेरबद गर्न सुुझाव वा निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अत्यिारी प्रदान गनै प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७६\७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६\७७ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७\७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी फागुन २२ गते एक दिनका लागि बुक क्लोजको निर्णय गरेको छ । यसर्थ फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।