काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा १३८.१५ प्रतिशतले बढाएको छ । 

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकले खूद नाफातर्फ फड्को मारेको हो । 

बैंकले शुक्रबार  जारी गरेको बित्तीय विवरणअनुसार अघिल्लो आबको पहिलो त्रैमासमा १४ करोड २७ लाख खूद नाफा आर्जन भएकोमा यो वर्षको सोही अवधिमा ३४ करोड नाफा कमाएको छ । 

सिटिजन्सले पहिलो त्रैमासमा अघिल्लो वर्ष ३० करोड ७७ लाख रहेको खूद ब्याज आम्दानीलाई बढाएर ४३ करोड ६३ लाखको उचाईमा पुर्याएको छ । 

यो अवधिमा बैंकले ५० अर्ब ३१ करोड निक्षेप संकलन गरी ४३ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा बैंकले ३६ अर्ब ९४ करोड निक्षेप संकलन गरी ३१ अर्ब ८८ करोड कर्जा लगानी गरेको थियो । 

ठूलो परिमाणमा भएको राइट ब्याक र समग्र विजिनेशमा समेत भएको बढोत्तरीका कारण नाफामा यो बैंकले फड्को मारेको बताइएको छ । बैंकले यो अवधिमा ४४ करोड ५५ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । जबकि अघिल्लो आबको यही अवधिमा यो बैंकले ७ करोड ८३ लाख रुपैयाँको मात्र राइट ब्याक गरेको थियो । 

सिटिजन्स बैंक इन्टरनेशनलको चुक्तापूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६५ करोड रुपैयाँ छ । 

यो बैंकको सीडी रेसियो ७७.४० प्रतिशत रहेको छ भने अघिल्लो आबको पहिलो त्रैमासमा २.३५ प्रतिशत रहेको निस्क्रिय कर्जा दरलाई यो वर्ष घटाएर १.७३ प्रतिशतमा झारेको छ । 

बैंकको प्रति सेयर आम्दानी २४.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.७७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.२६ गुणा रहेको छ ।