काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योेरेन्स र नेपाल इन्स्योरेन्स पुँजी वृद्धिको योजना पेस गर्न ७ दिने अल्टिमेटम दिएको छ। 

आज दुवै कम्पनीले पत्र पठाउँदै ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए। ‘तोकिएको समयसीमाभित्र पनि ती दुवैले पुँजी वृद्धिको योजना पेस नगरेको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाइनेछ’, ती अधिकारीले भने। 

नेपाल बीमा प्राधिकरणले २०८० साल असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। अधिकांश बीमा कम्पनीले पुँजी वृद्धिका लागि योजना पेस गरिसकेका छन्। तर, प्रभु र नेपाल इन्स्योरेन्सले भने पुँजी वृद्धिका लागि खासै पहल नगरिरहेको प्राधिकरणले जनाएको छ। 

यसअघि बीमा प्राधिकरणले पुँजी बढाउन प्रयास गर्ने ८ कम्पनीलाई हकप्रद ल्याउन अनुमति दिइसकेको छ। मर्जरमा गई वा अन्य माध्यमबाट पुँजी पुर्याउन प्रयास गरेका कम्पनीलाई अपुग पुँजीबराबरको हकप्रद जारी गर्न प्राधिकरणले अनुमति दिएको हो। 

प्रभु इन्स्योरेन्सले प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन यसअघि साबिक अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको थियो। प्रभु र अजोडबीच स्वाप रेसियो, नाम र सञ्चालकको विषयमा सहमति नहुँदा दुईबीचको मर्जर भाँडिएको थियो। 

त्यस्तै यो कम्पनीले वैदेशिक रणनीतिक साझेदार भित्र्याएर पुँजी वृद्धि गर्ने योजना बनाएको थियो। तर, सोसम्बन्धी योजनाका प्रस्तावहरु प्राधिकरणमा पेस गरेको थिएन। 

प्रभु इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम पुँजी पुर्याउन अझै १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ पुँजी जुटाउन आवश्यक देखिन्छ।

त्यस्तै नेपाल इन्स्योरेन्सले पनि न्यूनतम पुँजी पुर्याउन साबिक आइएमई जनरल इन्स्योरेन्ससँग मर्जरका लागि लामो छलफल गरेर पनि टुंगो लगाउन सकेको थिएन। कम्पनीले आफ्नो स्थिर सम्पत्ति बिक्रीमार्फत पुँजी पुर्याउने योजना लिएको छ। कम्पनीले आफ्नो नाममा रहेको जग्गा लिलाममार्फत पुँजी बढाउने प्रस्ताव प्राधिकरणमा पेस गरेको थियो। तर, पहिलोपटक जग्गा बिक्रीको सूचना जारी गर्दा कुनै पनि प्रस्ताव पेस नभएको जनाउँदै कम्पनीले दोस्रोपटक पुनः सूचना जारी गर्दै जग्गा बिक्री गर्न लागेको प्रस्ताव प्राधिकरणमा पेस गरेको छ। तर, यो प्रयास पनि सफल हुने नदेखेर प्राधिकरणले ७ दिनभित्र पुँजी वृद्धिको योजना पेस गर्न निर्देशन दिएको ती अधिकारीले जानकारी दिए। 

हाल नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन १ अर्ब १२ करोड १ लाख रुपैयाँ जुटाउनुपर्ने देखिन्छ।