काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्सको ५० प्रतिशत सेयर स्वामित्व रहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ। 

नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पुर्याउन निर्देशन दिएबमोजिम एनएलजीले कायम चुक्तापुँजीको ६६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो। कुल २० निर्जीवन बीमा कम्पनीमध्ये १२ कम्पनीले पुँजी वृद्धि गर्न मर्जरको बाटो रोजेका थिए। विदेशी कम्पनीको शाखाका रुपमा रहेका दि ओरियन्टल र नेसनल इन्स्योरेन्सबाहेकका सबै कम्पनीलाई चुक्तापुँजी बढाउन सकस परेको छ। 

मर्जरमा गई एकीकृत कारोबारसमेत थालेका ६ कम्पनीमध्ये आइजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले न्यूनतम चुक्तापुँजी पुर्याउँदा अन्य कम्पनीले तोकिएको पुँजी पुर्याउन सकेनन्। 

बीमा प्राधिकरणका अनुसार मर्जरमा गएर पनि पुँजी नपुगेका कम्पनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को वित्तीय रिर्पोटका आधारमा बोनस र हकप्रद जारी गर्न दिइनेछ। 

यता एनएलजी इन्स्योरेन्सले भने कुनै कम्पनीसँग पनि मर्ज नभई पुँजी वृद्धिको अभ्यासमा लागिपरेको छ। कम्पनीले हाल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँको ६६ प्रतिशत अर्थात् १ः०.६६ अनुपातमा हकप्रद जारी गर्न लागेको हो। 

हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसहित एनएलजीले साउन १५ गते विशेष सभा डाकेको छ। हकप्रद जारीपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ। हकप्रद जारीपछि पनि कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन ७ करोड ७७ लाख रुपैयाँ पुँजी थप्नुपर्नेछ। यसआधारमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३ प्रतिशतभन्दा बढी बोनस सेयर वितरण गर्नुपर्नेछ।