– मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले प्रभु इन्स्योरेन्सले पुँजी वृद्धिको योजना पेस गर्न अटेर गरेको जनाएको छ। 

प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापुँजी वृद्धि गर्न निर्देशन दिएकोमा प्रभुले हालसम्म पुँजी वृद्धिका लागि कुनै योजना पेस नगरेको प्राधिकरण स्रोत बताउँछ। ‘सबै कम्पनीहरुले न्यूनतम चुक्तापुँजी पुर्याउन आ–आफ्नै तवरबाट पहल गरिरहेका छन् तर प्रभु इन्स्योरेन्सले भने पुँजी वृद्धिका लागि ठोस योजना पेस गरेको छैन’, स्रोतले भन्यो। 

स्रोतका अनुसार तोकिएको समयमा चुक्तापुँजी नपुर्याउने बीमा कम्पनीलाई कारबाही गर्ने तयारी भइरहेको छ। ‘केही दिनमा बस्ने प्राधिकरणको बोर्ड बैठकमा के–कस्तो कारबाही गर्ने भन्ने विषयमा निर्णय हुन्छ’, स्रोतले भन्यो। 

पुँजी वृद्धि गर्न प्रयास गर्ने कम्पनीलाई प्राधिकरणले हकप्रद निष्कासनको समेत बाटो खुलाउने भएको छ। ‘मर्जरमा गई वा अन्य तरिकाबाट पुँजी बढाउन प्रयास गर्ने कम्पनीलाई मात्रै हकप्रद निष्कासन गर्न दिनेछौँ’, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘प्रभु इन्स्योरेन्सले हालसम्म पुँजी वृद्धिको लागि ठोस योजना पेस गर्न सकेको छैन यस विषयमा प्रभुलाई हकप्रद जारी गर्न दिने वा नदिने भन्ने विषयमा बोर्ड बैठकमा छलफल हुनेछ।’ 

यसका साथै प्रभु इन्स्योरेन्सलाई तत्कालै कस्तो खालको कारबाही गर्ने भन्ने विषयमा कुनै छलफल नभएको पौडेलले बताए। ‘पुँजी नपुर्याएको खण्डमा वा कुनै योजना नभएको खण्डमा प्रभुलाई अवश्य कारबाही हुन्छ’, उनले भने, ‘तर, ठ्याक्कै कस्तो कारबाही हुने भन्ने कुरा बोर्ड बैठक बसेपछि मात्रै थाहा हुन्छ।’ 

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो। प्राधिकरणले बीमा कम्पनीहरुको पुँजी वृद्धिमा सहजता समेत प्रदान गर्दै आइरहेको छ। असार मसान्तसम्मको डेडलाइन भए पनि प्राधिकरणले पुँजी वृद्धिको प्रयासमा लाग्ने कम्पनीलाई सहुलियतमा हकप्रद जारी गर्न दिनेसमेत भनिरहेको छ। 

थोेरै पुँजी पुर्याउन कठिन भएका कम्पनीलाई हकप्रद निष्कासन गर्न दिने प्राधिकरणको योजना छ। मर्जरमा गएर पनि पुँजी नपुग्ने कम्पनीलाई भने गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा बोनस सेयर जारीपश्चात् अपुग रकमबराबरको हकप्रद जारी गर्न दिने पौडेलले बताए। 

सबै बीमा कम्पनी विभिन्न तरिकाबाट पुँजी वृद्धिमा लागिपर्दा प्रभु इन्स्योरेन्सले भने कुनै ठोस योजना प्राधिकरणसमक्ष पेस नगर्दा प्राधिकरण प्रभुसँग रुष्ट बनेको छ। कम्पनीले वैदेशिक रणनीतिक साझेदार भित्र्याई पुँजी वृद्धि गर्ने भने पनि त्यसका लागि कुनै योजना पेस नभएको प्राधिकरणले जनाएको छ। 

प्रभु इन्स्योरेन्सले विदेशी लगानी भित्र्याउन नसकेमा हकप्रदको बाटो रोज्ने जनाएको थियो। सोहीबमोजिम कम्पनीलाई नेप्सेलाई छलेर हकप्रद सेयरसम्बन्धी प्रस्ताव बीमा प्राधिकरणमा लगेपछि नेप्सेले कारबाही समेत गरेको थियो। 

प्रभु इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ जुटाउन आवश्यक देखिन्छ।