-रेखा चन्द
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले स्थायी तरलता सुुविधा (एसएलएफ)को प्रयोग घटाउन थालेका छन्। 

बैंकिङ प्रणालीमा लगानीयोग्य रकममा सुधार हुुँदै जाँदा तथा निक्षेप बढ्न थालेसँगै बैंकहरुले एसएलएफको प्रयोग ह्वात्तै घटाएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुले वित्तीय व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकबाट लिने सापटी सुविधामध्येको एसएलएफमार्फत सापटी लिने क्रम घट्दा तरलतामा पनि केही सुुधारको संकेत देखिन थालेको हो। 

तरलता संकट हुँदा चालुु आर्थिक वर्षको ४ महिनामा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ)बापत ठूूलो रकम सापटी लिएका थिए भने मंसिर महिनादेखि यस्तो रकम घट्दै गईरहेको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जनाएको छ। यो सुुुविधावापत कुनैबेला बैंक तथा वित्तीय संस्थाले एकैदिन ८७ अर्ब रुपैयाँसम्म लिने गरेका थिए तर पछिल्लो समय यस्तो रकम घटेर करोडमा सीमित हुन थालेको विभागले सार्वजनिक गर्ने तथ्याङ्कमा उल्लेख छ। 

विभागले मंसिर १५ गते सबैभन्दा कम ६ करोड २५ लाख रुपैयाँ मात्रै बैंक तथा वित्तीय संस्थाले एसएलएफ सुुविधा लिएका जनाएको छ। तरलतामा कमी आउँदा अल्पकालीन सापटीको भरमा वित्तीय व्यवस्थापन गर्दै आएका बैंकहरुले हालसम्म २६ खर्ब ७७ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ सो उपकरणमार्फत लिइसकेका छन्। 

मंसिर १५ गतेपछि १६ मा १ अर्ब ४ करोड रुपैयाँ, १८ मा १३ करोड रुपैयाँ, १९ मा १० करोड रुपैयाँ, २० मा ४ अर्ब ५९ करोड रुपैयाँ, २१ मा १ अर्ब ४० करोड रुपैयाँ र २३ मा ३४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले सापटीको रुपमा लिएका छन्।

राष्ट्र बैंकले एक हप्ताका लागि मात्र बैंकहरुलाई एसएलएफ सुविधा दिने गर्दछ। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन्। 

यसैबीच, शनिबारसम्म बैंकिङ प्रणालीमा १५ अर्ब ६० करोड रुपैयाँ अधिक तरलता रहेको राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। उनकाअनुुसार सो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुुल निक्षेप ५२ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ छ। वाणिज्य बैंकहरुको मात्रै कुुल निक्षेप ४५ खर्ब ९२ अर्ब रहेको छ। 

त्यसैगरी, शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ५९ अर्ब रुपैयाँ ५३ करोड रुपैयाँ छ। त्यसमा वाणिज्य बैंकको हिस्सा ४२ खर्ब १३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

नेपाल बैंकर्स संघ (एनबीए) का अनुुसार मंसिर ३ गतेदेखि मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। यस्तै मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म कुल ११ अर्ब रुपैयाँले निक्षेप थपिएर वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।