काठमाण्डौ । प्रभू बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । 

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७८-७९ को लेखापरीक्षण गरी एनएफआरएसबमोजिम तयार गरिएको वित्तीय विवरणमा नियमनकारी समायोजनपछि हुने वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

प्रस्तावित लाभांशमध्ये ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.५ प्रतिशत नगद लाभांश रहेका छन् । 

नियमनकारी समायोजनपछि गत आर्थिक वर्षमा प्रभू बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड २९ लाख७३ हजार ९९२ रुपैयाँ कायम भएको थियो । बैंकको आ.ब. ०७८-७९ मा कायम चुक्तापूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ । 

बैंकले कुल ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न खोजेको हो । बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १३ अर्ब ५३ करोड ४७ लाख हुनेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।