काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गर्न चाहेको खबर पनि चर्चा आउन थालेको छ। 

मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा आफ्नो इलेक्ट्रिक कार उत्पादन गर्न प्लान्ट स्थापना गर्नका लागि पहल गरिरहेको छ। कम्पनीले भारतमा वार्षिक ५ लाख कार उत्पादन गर्ने प्लान्ट राख्ने योजना बनाएको बताइएको छ। 

यदि भारतमै टेस्ला कार उत्पादन भएमा सुरुआती मूल्य भारु २० लाख राखिने खबर सार्वजनिक भइरहेका छन्। यद्यपि हालसम्म टेस्लाले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन। 

इलेक्ट्रोनिक टाइम्सका अनुसार टेस्लाले भारतमा कारखाना स्थापनाका लागि भारत सरकारसँग कुराकानी गरिरहेको छ। कम्पनीले भारतमा आफ्नो इलेक्ट्रिोनिक सप्लाई चेन स्थापना गर्न र ट्याक्स छुटको विषयमा छलफल गरिरहेको बताइएको छ। 

केही समयअघि टेस्ला कम्पनीका मालिक एलन मस्क र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। त्यतिबेला उनले टेस्ला छिट्टै भारतमा प्रवेश गर्ने पनि जानकारी गराएका थिए। 

भारतीय प्रधानमन्त्रीसँग भेटपछि मस्कले भारतमा स्टारलिंक लैजाने सोच रहेको पनि जानकारी गराएका थिए। यसले भारतका ग्रामीण इलाकामा इन्टरनेटको पहुँच पुर्याउन मद्दत गर्ने उनको भनाइ थियो। –एजेन्सी