काठमाण्डौ । फागुन महिनामा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंकहरुले घटाएका छन्। 

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को गत माघ २६ गते बसेको बैठकले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। सोहीअनुसार आज वाणिज्य बैंकहरुले फागुनको ब्याजदर प्रकाशित गरेका छन्। 

फागुनमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरेको छ।

यसअघि माघमा वाणिज्य बैंकहरुले व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेका थिए। जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको थियो।

उता विकास बैंकहरुले घटाएर फागुनको ब्याजदर प्रकाशित गरेका छन्। विकास बैंकहरुले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाएका छन्। फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्। 

विकास बैंकहरुले माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए।