काठमाण्डौ । विश्वका केही कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुगेको छ । नेपालजस्तो विकासोन्मुख मुलुक, जसले आफूलाई आवश्यक सबैखालका उर्जाका लागि आयातमा भर पर्नुपर्छ, यो निरश खबर हो । 

केही दिनदेखि कच्चा तेलको मूल्यमा देखिएको बढोत्तरीको क्रम रोकिने अझै सम्भावना देखिएको छैन । बरु, विश्वमै बढी माग हुने कच्चा तेलको मूल्य पनि ९५ डलर प्रतिब्यारेलबाट माथि लाग्न थालेको छ । यसले निकट भविष्यमै कच्चा तेलको मूल्य बढेर ट्रिपट डिजीटको उचाईमा पुग्नसक्ने प्रक्षेपण सत्य सावित हुनसक्ने देखिएको छ । 

रोयटर्सकाअनुसार सोमबार नै नाइजेरियाको कच्चा तेल क्वा इबोको मूल्य प्रति ब्यारेल १०० डलर माथि पुगिसकेको थियो । उता, मलेसियाली कच्चा तेल तापिसको मूल्य त अघिल्लो हप्ता नै प्रति ब्यारेल १०० डलर माथि पुगिसकेको थियो । 

हुँदा हुँदा अब ब्रेन्ट क्रूडको मूल्य समेत १०० डलर नजिक पुगेको छ । मंगलबार अजरबैजानमा सुरु भएको आतंकवादी विरोधी अभियानलाई कारण देखाउँदै ब्रेन्ट क्रूडको मूल्य पनि प्रति ब्यारेल ९५.२९ डलर पुर्याइएको छ । 

अजरबैजान एक तेल र ग्याँस उत्पादकका साथमा निर्यातकर्ता देश हो । हाल बजारमा तेल आपूर्ति रोकिरहेको समूहमा गैर ओपेक सहभागीको रुपमा उत्पादकहरुको ओपेक प्लस गठबन्धनको एउटा सदस्य समेत हो । 

अजरबैजानको आर्मेनिया क्षेत्रमा तनाव बढ्दै जाँदा तेलको मूल्य मंगलबार बिहान इटीमा पनि बढेको थियो र फलस्वरुप ब्रेन्ट प्रति ब्यारेल ९५ डलर माथि पुगेको छ भने डब्लूटीआई क्रूड पनि १.६ प्रतिशतले बढेर ९२.६१ डलर प्रतिब्यारेलको उचाईमा पुगेको छ ।

विश्लेषकहरुले निकट भविष्यमै ब्रेन्ट क्रूडको मूल्यले प्रति ब्यारेल १०० डलरको आँकडा पार गर्ने प्रक्षेपण गरेका छन् । 

कच्चा तेलको मूल्य बढ्ने प्रक्षेपणसँगै आर्थिक मन्दीले आक्रान्त विश्व अर्थतन्त्रमा फेरि मुद्रास्फिति अनियन्त्रित बन्नसक्ने चिन्ता थपिएको छ ।

नेपालजस्तो मुलुकमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने हुँदा आयातका लागि भुक्तानीको रकम बढ्ने र यसले विदेशी मुद्राको सञ्चितीमा गम्भीर असर पर्ने सम्भावना देखिन्छ ।