काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ८० करोड ७७ लाख नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १.८२ प्रतिशतले मात्र बढी हो । 

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ८१ लाखमा सीमित बन्न पुगेको छ । 

यो अवधिमा बैंकको संचालन मुनाफा १ अर्ब ५ करोडबाट बढेर १ अर्ब १२ करोड कायम भएको छ भने १ अर्ब ३९ करोड रहेको खूद ब्याज आम्दानी २.९६ प्रतिशतले घटेर १ अर्ब ३५ करोडमा सीमित बन्न पुगेको छ । 

यो अवधिमा बैंकले ६३ अर्ब १२ करोड निक्षेप संकलन गरी ५७ अर्ब ९३ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ ५.६२ र कर्जातर्फ १०.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिसम्म ३ अर्ब ३१ करोडमा सीमित रिजर्बको आकार बढी ३ अर्ब ६८ करोडको उचाईमा पुगेको छ भने रिटेन अर्निङ १२.६८ प्रतिशतले घटेर १ अर्बबाट ८८ करोडमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष १.७८ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर १.९२ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको क्यापिटल एडेक्वेसी रेसियो १२.९५ प्रतिशत, सीसीडी अनुपात ७२.९५ प्रतिशत, बेस रेट ९.९२ प्रतिशत, वार्षिकीकृत प्रतिसेयर आम्दानी १९.९७  रुपैयाँ, पीई १०.१६ गुणा कायम भएको छ ।