काठमाण्डौ । खूद ब्याज आम्दानी घटे पनि नेपाल बंगलादेश बैंकको खूद नाफा भने उत्साहजनक ढंगले बढेको छ । 

बैंकले आइतबार आर्थिक वर्ष २०७७\७८ को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा यस्तो देखिएको हो । 

नवील बैंकमा मर्जरमा जाने चर्चामा रहेको नेपाल बंगलादेश बैंकको खूद नाफा आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्म २ अर्ब २९ करोड कायम भएको हो । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८४.१७ प्रतिशतले बढी हो । 

बैंकले वितरणयोग्य मुनाफामा पनि छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४४ करोड ९१ लाख रुपैयाँमा सीमित वितरणयोग्य मुनाफा २२८.४९ प्रतिशतले बढेर यो वर्ष १ अर्ब ४७ करोडको उचाईमा पुगेको छ । बैंकको चुक्तापूँजी ९ अर्ब रुपैयाँ रहेको छ । यसरी हेर्ने हो भने बैंकले यो वर्ष १६ प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्नसक्छ । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा खूद नाफा ह्वात्तै बढेको हो । यो अवधिसम्म २७ करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स भएको देखिएको छ । 

बैंकको खूद ब्याज आम्दानी २ अर्ब ८४ करोडबाट घटेर २ अर्ब ६३ करोडमा सीमित बनेको छ । अन्य संचालन आम्दानीमा भने ४६० प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष ५ करोडमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिसम्म २८ करोड ४४ लाखको उचाईमा पुगेको हो । 

अघिल्लो वर्ष १ अर्ब ८३ करोड मात्र रहेको संचालन आम्दानी बढेर यो वर्ष ३ अर्ब २० करोड पुगेको छ भने रिजर्बको आकार करिब २७ प्रतिशतले बढेर ३ अर्ब ७५ करोडबाट ४ अर्ब ७६ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले ८७ अर्ब १२ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड बढी कर्जा परिचालन गरेको छ । गत वर्षको तुलनामा निक्षेप र कर्जातर्फ क्रमशः ३१.१५ प्रतिशत तथा १५.८६ प्रतिशतको प्रगति देखिएको छ । 

बैंकले अघिल्लो वर्ष यही अवधिसम्म २.८९ प्रतिशत रहेको खराब कर्जाको अनुपातको घटाएर १.५५ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने क्यापिटल एडेक्वेसी रेसियो १३.९४ प्रतिशत रहेको छ । 

नाफामा बढोत्तरीसँगै बैंकको प्रतिसेयर आम्दानी(इपीएस) ७३.७६ प्रतिशतले बढेर २५.४६ रुपैयाँको उचाईमा पुगेको छ। 

असार मसान्तसम्मको प्रतिसेयर नेटवर्थ १७०.६५ रुपैयाँ, पीई रेसियो १७.१३ गुणा, बेस रेट ७.४१ प्रतिशत र कस्ट अफ फण्ड ५.४९ प्रतिशत रहेको छ ।