-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । यो साता सेयर बजारमा पाँच दिन कारोबार भएको छ । पाँच दिनमा बजार चार दिन बढ्यो भने एक दिन घटेको छ  ।

अघिल्लो साता १ हजार ९९४.६ मा बन्द भएको बजार यो साता २ हजार १०९.१ मा बन्द भयो । यस आधारमा भन्दा यो साता ११४.५ अंक बढेर बजार बन्द भएको छ। अघिल्लो साता पनि बजार करिब १४२ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा ३१ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तो कारोबार अघिल्लो साता भने १६.६९ अर्ब रुपैयाँ बराबर भएको थयो । यस आधारमा भन्दा यो साता दोस्रो बजारमा सूचक र कारोबार दुबैमा बढोत्तरी आएको छ । यो साता बजार पूँजीकरण ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँमाथि पुगेको छ । यो भनेको अघिल्लो साताको तुलनामा बजार पूँजीकारण २ खर्ब रुपैयाँले बढेको हो । 
प्राविधिक पक्ष :
इलिअट वेभ सिद्धान्त :
यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन् । प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो  मानिन्छ भने यो वेभले लाखौं लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ । खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ । 
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् ।  त्यस्ता डिग्रीहरुले साना ठूला गरेर  एकदिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् ।  इलिअट वेभमा मूल्यमाथि जाने पाँच फरक फरक वेभ हुन्छन् भने तल जाने तीन फरक- फरक वेभ हुन्छन् ।

माथितिर लाग्ने पाँच वटा वेभमा पनि तीन वटा चडावका र दुई वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी, सी मूल्य तल जाने संकेत हो ।

बजारको हालको अवस्थालाई पछिल्लो पटकको न्युन विन्दु १८१८ देखि २१५० बजारले बनाएको चक्रलाई  इलिअट वेभ मिनेट डिग्रीमार्फत् नियाल्दा वेभ १ मा बजारले पछिल्लो पटकको न्युन विन्दु १८१८ देखि १९२० सम्म चलेको देखाएको छ । त्यसपछि वेभ २ फिवनासीको ०.९९ प्रतिशत नै करेक्सन भएर १८२५ सम्म आएको देखिन्छ ।

त्यसपछि बजार सानो समय अवधिको  वेभ ३ चलेको देखिन्छ । यो भनेको फिवोनासीको १.६१ प्रतिशतको बढोत्तरीको साथ २०१६ सम्म हो । वेभ ४ मा पुन : करेक्सन भएर १९५२ सम्म आएको देखिन्छ । यो साता वेभ ५ चलेर बजार २१५० सम्म पुगेको र अन्तिम कारोबारमा वेभ ए बनाउँदै बजारमा केहि करेक्सन आएको देखिन्छ ।

आगामी साता वेभ बी बनाउन केही अंक बढेर पुनः वेभ सी बनाउन बजार २ हजारको आसपास आएर हालको एउटा मिनेट डिग्रीको चक्र बजारले पुरा गर्न सक्छ । जसलाई हामीले पहिलो विकल्पको रुपमा गणाना गरेका छौं ।
दोस्रो विकल्प :
 दोस्रो विकल्प के पनि हुन सक्छ भने यदि बजार हालको बढोत्तरी २१५० सम्म नै वेभ ३ मा चलेको हो भने यो विस्तारित (एक्सटेन्डेड) वेभ ३ हुन सक्छ । हालको करेक्सन वेभ ४ चलेको हो भने पनि  फिवोनासीको ०.३८ प्रतिशत करेक्सन भएर बजार २  हजार आसपाससम्म आउन सक्छ । त्यसपछिको वेभ ५ भनेको करिब २२४० देखि २२८० सम्म पुगेर मात्रै  बजारमा ठूलो करेक्सन अर्थात् वेभ  एबीसी चल्न सक्छ ।(हेर्नुस् मुख्य तस्बिर)

 हालको लागि यी दुबै विकल्प बजारमा खुला छन् । तर इलिअट वेभ र फिवनासीको सम्बन्धबाट के पुष्टि गर्न सकिन्छ भने हालको करेक्सन जति ठूलो हुन्छ बजार न्यूटनको तेस्रो सिद्धान्त हरेक क्रियाको बराबर तर विपरित  प्रतिक्रिया हुन्छ भन्ने सिद्धान्तलाई टेकेरभन्दा  बजार त्यति नै माथि जाने सम्भावना रहन्छ ।

जसअनुसार हालको करेक्सन २ हजार वा त्यहाँभन्दा पनि केही तल आयो भने बजारमा त्यसपछि माइनरको तेस्रो वेभ २ हजार ५०० र पाँचौ वेभ चल्दा बजार अबको एकदेखि डेढ वर्ष समयावधिमा  करिब २ हजार ९०० देखि ३ हजारसम्म पुग्न सक्छ । 
बोलिङगर ब्यान्ड,म्याक्डी र आरएसआई 
यो साताको बजारलाई बोलिङगर ब्यान्डमार्फत् नियाल्दा अघिल्लो साता मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारले यो साता अपर ब्यान्डमा २ हजार १५० मा प्रतिरोध सामना गरेको छ । भोलुममार्फत् हेर्दा यो साता अघिल्लो साताको तुलनामा करिब दोब्बर कारोबार आएको छ ।

बजारलाई साप्ताहिक रुपमा म्याक्डीमार्फत् नियाल्दा यो साता बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक  बनेको छ । आरएसआई ६१ को तहमा पुगेको छ भने यसले यसअघिको तहलाई ब्रेक गरेको छैन । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा भने गएका सातादेखि भने बजार सम्हालिंदै गएको देखिन्छ ।

पिभट् विश्लेषणको आधारमा :
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२२०३
प्रतिरोध २ –२१०९
प्रतिरोध १– २०५२
पिभट प्वइन्ट : १९६०

घटेमा सपोर्ट :
सपोर्ट १– १९०१
सपोर्ट २– १८०८
प्रतिरोध ३ –१७५०

निष्कर्ष : अघिल्लो साता करिब १४२  अंकले  बढेको बजार यो साता पनि ११४.५  अंकले बढेको छ । यो साता बजार बढ्दा लगानीकर्ताले २ खर्ब रुपैयाँ आम्दानी गरेका छन् । कारोबार र सूचक दूबै लामो समय पछि उच्च रहेको छ ।

आधारभुत रुपमा यो साताको बजार पनि निकै उत्साहजनक रह्यो । प्राविधिक रुपमा पनि यो साताको बजारमा म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक बनेको छ ।

अघिल्लो सातादेखि लगातार बढेको बजारमा यो साताको अन्त्यमा केहि करेक्सन आएको छ । फिवोनासी र इलिअट वेभमार्फत् बजारको पछिल्लो अवस्थालाई नियाल्दा हालको करेक्सन फिवनासीको ०.३८ प्रतिशतसम्म करेक्सन हुन्छ भने त्यो २हजार विन्दुसम्म हुन सक्छ । यो भनेको बजार पुनः माथि जाने आधार बन्दै गरेको भन्ने नै हो । किनकि यसले छुटेकाहरुलाई पनि समटेर लाँदै गरेको भन्ने अर्थ दिन्छ ।

प्राविधिक रुपमा यहि अवस्थालाई भन्नुपर्दा बजारले डाउ थेउरीमा ‘हाएर लो’ बनाउँदै गरेको छ भन्ने हो  । जसलाई मार्केट्मा इन्ट्रि प्वइन्टको रुपमा पनि बुझिन्छ । इलिअट वेभमा पनि बजरले एउटा सानो करेक्सन केहि समय लिएर पुनः माथिको यात्रा तय गर्दै छ भन्ने नै हो । यस हिसावले हेर्दा यदि आगामी साता बजारमा केहि दिन करेक्सन चल्छ भने त्यो स्वस्थ्य करेक्सन नै हुन सक्छ ।

त्यसपछि माइनरको वेभ ३ चल्दा बजार २ हजार ५०० सम्म र वेभ ५ मा आगामी एक डेढ वर्षमा ३ हजार विन्दुसम्मको यात्रा बजारले तय गर्न सक्छ । जसलाई आधारभुत रुपमा पनि घट्दो ब्याजदर, बढ्दो तरलता र नेपाल राष्ट्र बैंकको नरम नीतिले पुष्टि गर्न खोजेको देखिन्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)