काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले आफ्नो वार्षिक साधारणसभा पुस २६ गते सप्तरीस्थित आफ्नै केन्द्रीय कार्यालयमा गर्ने निर्णय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३१.५७ प्रतिशत लाभांश पारित हुनेछ । संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी १० करोड २० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड ४ लाख रुपैयाँबराबरको बोनस सेयर र ११.५७ प्रतिशतले हुन आउने १ करोड १८ लाख १० हजार ५८० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाले अन्य उपयुक्त ‘घ’ वर्गका इजाजत प्राप्त एक वा एकभन्दा बढी लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्न उपयुक्त प्रस्ताव देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्यलगायत आवश्यक कार्यहरु गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने प्रस्ताव पनि पारित गर्ने छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले पुस १४ गतेदलेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुन पुस १३ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।