काठमाण्डौ । बैंक अफ काठमाण्डौको नाममा झुण्डिएको ‘लुम्बिनी’ शब्द हटाएपछि फलिफाप होला कि भन्ने अवस्था देखिएन । हालै बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडबाट लुम्बिनी फालेर पुनः बैंक अफ काठमाण्डू(बीओके)मै फर्किएको यो बैंकले खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको देखिए पनि यो नाफा लुम्बिनी बैंकबाट समेत थपिएको तथ्य भूल्नुहुन्न ।

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८८ करोड ६७ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४८ करोड ३५ लाखमा सीमित थियो । खुद नाफातर्फ यो बैंकले ८३ प्रतिशत भन्दा बढीले फड्को मारेको देखिएको छ । तर, दुई वाणिज्य बैंक मिल्दाको नाफा एउटा मात्र वाणिज्य बैंक हुँदाको नाफा भन्दा बढी हुनु स्वभाविक हो ।

दुई बैंक मिलेपछि बनेको बैंकको व्यवसाय पनि बढेको छ, यही कारण खुद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति देखिएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ७ करोडमा सीमित खुद ब्याज आम्दानी यो वर्ष सोही अवधिमा बढेर १ अर्ब ९३ करोड भन्दा माथि पुगेको छ ।

बैंकले अघिल्लो वर्ष ७४ करोड २६ लाखमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब २४ करोड ९८ लाखको उचाईमा पुर्याएको छ ।

मर्जरपछि निक्षेप संकलन र कर्जा प्रवाहमा पनि उस्तै प्रगति देखिएको छ । यो अवधिमा बैंकले ७० अर्ब ६७ करोड निक्षेप संकलन गरी ६२ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४० अर्ब ७१ करोड निक्षेप संकलन गरी ३४ अर्ब ८५ करोड मात्र कर्जा परिचालन गर्न सकेको थियो ।

तर, दुई बैंक मर्ज भई बनेको बीओकेले यो अवधिमा निस्क्रिय कर्जा अनुपातलाई चाहि चमात्कारिक ढंगले घटाएको छ । अघिल्लो वर्षको यो अवधिमा ३.७६ प्रतिशत रहेको एनपीएल घटाएर यो वर्ष १.७६ प्रतिशतमा झरेको हो ।

बैंकको कस्ट अफ फण्ड भने बढेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ४.०४ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर यो वर्ष ४.६८ प्रतिशत पुगेको छ । यो राम्रो संकेत होइन । लुम्बिनी बैंकसँग मर्जरमा गएका कारण कर्मचारी तथा संचालन खर्च बढी कस्ट अफ फण्ड बढेको हो ।

सीडी रेसियो ७७.६७ प्रतिशत कायम भएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्षको यो अवधिमा इपीएस २४ रुपैयाँ १३ पैसा रहेकोमा यो वर्ष घटेर २१ रुपैयामा सीमित बनेको छ । यो अवधिमा बैंकको प्रति सेयर नेटवर्थ १५३.९४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.१९ गुणा कायम भएको छ ।

हाल यो बैंकको चुक्तापुँजी  ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।