काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले करिब ७ करोडले खूद नाफा बढाएको छ । 

आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरी बैंकले यस्तो आँकडा प्रस्तुत गरेको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको नाफा भने १ अर्ब ४६ करोड रहेको थियो । 

अघिल्लो वर्ष २ अर्ब ९ करोड रहेको संचालन मुनाफा समेत सामान्य बढी २ अर्ब २५ करोड पुगेको छ ।

व्यवसाय बिस्तारमा खासै ध्यान नदिएका कारण बैंकको खूद ब्याज आम्दानी भने घटेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३ अर्ब ५७ करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ३ अर्ब १४ करोडमा सीमित बन्न पुगेको छ । यसरी हेर्दा खूद ब्याज आम्दानी ४३ करोडले घटेको देखिन्छ । 

समीक्षा अवधिसम्म ९ अर्ब ६५ करोड चुक्तापूँजी रहेको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ९७ करोड ७६ लाखमा सीमित रिटेन अर्निंग बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ भने रिजर्बको आकार ४ अर्ब ७६ करोडबाट बढी ५ अर्ब ४६ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा बीओकेले १ खर्ब ३ अर्ब बढी निक्षेप संकलन गरी ९३ अर्ब ५८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९२ अर्ब १० करोड बढी निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड बढी कर्जा परिचालन गरेको थियो । 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेको छ । अघिल्लो वर्षको यो अवधिसम्म १७.०९ रुपैयाँ रहेको इपीएस घटेर १५.९० रुपैयाँमा सीमित बनेको हो । 

अघिल्लो वर्ष २.२८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.६७ प्रतिशत कायम भएको छ भने समीक्षा अवधिसम्मको कस्ट अफ फण्ड ५.१० प्रतिशत, सीडी रेसियो ७७.७८ प्रतिशत र आधार दर ७.४४ प्रतिशत कायम भएको छ । 

असार मसान्तसम्मको पीई अनुपात २३.८४ गुणा, प्रतिसेयर नेटवर्थ १६९.०७ रुपैयाँ र तरलता अनुपात २८.३६ प्रतिशत कायम भएको छ ।