काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले यो वर्ष १२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ। 

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७३ करोड ३८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र यो अवधिसम्म थप दायीत्व सिर्जना नभएमा यो वर्ष बैंकले ९७ करोड ८४ लाखसम्म वितरणयोग्य मुनाफा आर्जन गर्ने देखिन्छ । हाल यो बैंकको चुक्तापूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो हिसाबले यो वर्ष बैंकले १२ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको हो ।

बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गत आबको सोही अवधिको तुलनामा नाफातर्फ २९.४६ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ९३ करोडमा सीमित नाफा बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको हो। 

समीक्षा अवधिमा बैंकले संचालन मुनाफामा गत वर्षको तुलनामा ३०.०२ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ७१ करोडको उचाई चुमाएको छ । 

अघिल्लो वर्ष २ अर्ब ६ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर २ अर्ब ७३ करोडको उचाईमा पुगेको छ भने ३ अर्ब ६१ करोडको रिजर्ब घटेर ३ अर्ब ६० करोडमा सीमित भएको छ । 

समीक्षा अवधिमा बैंकले ८१ अर्ब १३ करोड बढी निक्षेप संकलन गरी ७१ अर्ब २६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ५.४९ प्रतिशतले प्रगति गरेको बैंकले कर्जा बिस्तारतर्फ भने ८.३२ प्रतिशतले वृद्धि गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा १.८२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर २.१२ प्रतिशत पुगेको छ भने ८.०१ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.३७ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष १०.७८ प्रतिशत रहेको आधार दर सामान्य घटेर १०.०७ मा सीमित बन्न पुगेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी १७.५४ रुपैयाँबाट बढेर १९.९२ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५९.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.२५ गुणा कायम भएको छ।