काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा बैंक जमानतमा चीनमा चलिरहेको मुद्दा बैंक अफ काठमाण्डू (बीओक) र हिमालयन बैंक लिमिटेडले जितेका छन्।

करिब आठ वर्षको प्रयासपछि दुवै बैंकले बैंक जमानतसम्बन्धी मुद्दा जितेका हुन्। मुद्दा जितेसँगै अब दुवै बैंकको आयोजनाको बैंक जमानतमा फसेको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने सम्भावना बढेको छ। जसमा बैंक अफ काठमाण्डूको मात्र करिब ९० करोड रुपैयाँ र हिमालयन बैंकको ६६ करोड रुपैयाँ रहेको छ।

यी दुवै बैंक मेलम्ची आयोजनाको ठेकेदार चाइना रेलवे ग्रुप अफ कम्पनीका तर्फबाट बैंक ग्यारेन्टी बसेका थिए। तर आयोजनाको सुरुङ निर्माणको ठक्का पाएको यो चिनियाँ कम्पनीले १५ प्रतिशत भुक्तानी लिएर काम नगरी ८ वर्षअघि भागेको थियो। 

त्यसपछि दुवै बैंकले मुख्य ग्यारेन्टी बसेको चाइना कन्स्ट्रक्सन्स बैंकलाई रकम फिर्ता गर्न ताकेता गरेका थिए। तर यो चिनियाँ बैंकले रकम फिर्ता नगरेपछि बाध्य भएर दुवै बैंक चिनियाँ अदालतमा मुद्दा हाल्न पुगेका थिए। दुवै बैंकलाई आज बिहान मुद्दा जितेको त्यहाँको जेन्जल उच्च अदालतले जानकारी पठाएको छ। 

आयोजनामा बैंक जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा उक्त अदालतमा सुनुवाइ भइरहेको थियो। गत फेब्रुअरी १५ तारिखमा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेस गर्न दुवै बैंकलाई एक महिनाको समय दिएको थियो। त्यसपछि दुवै बैंकले आफ्नो खाताबाट मेलम्ची आयोजनालाई रकम भुक्तानी दिएको सबै प्रमाणहरु अदालतमा पेस गरेका थिए। 

अब चाइना रेलवे यो निर्णयविरुद्ध १५ दिनभित्र चीनको सर्वोच्च अदालतमा जान सक्छ। 

चिनियाँ अदालत आफूहरुको पक्षमा गरेको फैसलासँगै अब बैंक जमानतमा फसेको पैसा फिर्ता हुने आशा बढेको दुवै बैंकका अधिकारीहरुले बताएका छन्।