काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुसँग आज छलफल गर्दैछ । 

ठमेलस्थित अलफ्ट होटलमा बैंकका सीईओहरुसँग केन्द्रीय बैंकले छलफल गर्न लागेको हो । 

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको वार्षिक कार्यक्रमअनुसार सीईओहरुसँग छलफल डाकिएको बताइएको छ । 

छलफलमा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र, प्रवक्ता गुणाकर भट्ट, नियमन विभागका प्रमुख देवकुमार ढकाल लगायत आयोजकको तर्फबाट सहभागी हुनेछन् । 

कार्यक्रममा विभिन्न बैंकका सीईओ तथा प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको छ । 

छलफलमा देशको आर्थिक अवस्था, बैंकिङको अवस्था, ब्याजदर लगायतका विषयमा राष्ट्रबैंकले सीईओहरुबाट सुझाव लिनेछ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै गर्न खोजिएको यो छलफल लगत्तै केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गर्ने भएकोले समेत यसलाई चासोका साथ हेरिएको छ । यहाँ उठेका विषय र दिइएका महत्वपूर्ण सुझावहरुलाई एकीकृत निर्देशनमार्फत सम्बोधन हुनसक्ने सम्भावना रहेको राष्ट्रबैंकका अधिकारी बताउँछन् ।