काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा पैसाको थुप्रो लाग्दै गएको छ । योसँगै धेरै समयपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ७९ प्रतिशतको लाइनमा आइपुगेको छ । 

बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो ९० प्रतिशतभित्रै कायम गर्नुपर्छ । तर पछिल्लो समय प्रणालीमा पैसाको थुप्रो लागेपछि तरलता बढेर सीडी रेसियो ७९.८९ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

नेपाल राष्ट्रबैंकका अनुसार यो आँकडा २ दिन अगाडिको हो । डिसेम्बर १६ सम्मको आँकडाअनुसार कुल निक्षेप बढेर ६० खर्ब १६ अर्ब माथि पुगिसकेको छ । प्रणालीमा एकैदिन निक्षेप ६ अर्बले बढेको देखिन्छ । किनभने डिसेम्बर १५ मा कुल निक्षेप ६० खर्ब १० अर्ब थियो । 

वाणिज्य बैंकहरुमा मात्रै निक्षेप बढेर ५३ खर्ब २३ अर्ब पुगेको छ । एकदिन अघिको तुलनामा ५ अर्बले वाणिज्य बैंकहरुमा निक्षेप थपिएको देखिन्छ । 

अन्य बैंक तथा वित्तीय संस्थामा समेत २४ घण्टामा ३ अर्बले निक्षेप थपिएको छ । 

यो २४ घण्टामा कर्जा भने १ अर्ब मात्र थपिएको आँकडाले देखाएको छ । 

डिसेम्बर १६ का दिन अन्तरबैंक ब्याजदर २.७२ प्रतिशत रहेको छ । 

पछिल्लो समय तरलता अधिक भएका कारण केन्द्रीय बैंकले विभिन्न उपकरणमार्फत निक्षेप प्रशोचन गरिरहेको छ । बैंकहरु पनि अत्यन्त न्यूत रिटर्नमा त्यस्ता अल्पकालीन उपकरणहरुमा लगानी गर्न बाध्य छन् । 

बैंकको ब्याजदर एकल अंकमा आउने अपेक्षामा रहेका लगानीकर्ताहरुले आक्रामक ढंगले कर्जा नलिँदा यसको प्रभाव निक्षेपमा देखिएको हो । यहीकारण तरलता थुप्रिएको थुप्रियै छ।