काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि हालतमा असोजमा ब्याजदर बढ्न नहुने भन्दै सोहीअनुसार आवश्यक तयारी गर्न बैंकरहरुलाई निर्देशन दिएका छन् । 

पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या सुधारका लागि अर्थमन्त्री डा. महत सक्रिय छन् । 

उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा प्रवाहको अवस्था, निक्षेप संकलन तथा ब्याजदर घट्ने/नघट्ने विषयमा राय लिने काम गरेका छन् । 

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार यो क्रममा डा. महतले बैंकरहरुलाई असोजमा ब्याजदर बढ्न नहुने प्रष्ट सन्देश दिएका छन् । ‘तपाईहरुले भनेअनुसार स्थानीय निकायमा जाने रकमको ६० प्रतिशतलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छु ।’ अर्थमन्त्रीले बैंकरहरुलाई भेट्दा भनेको कुरा उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने–‘फेरि पनि ब्याजदर बढाएर मलाई लज्जित पार्ने काम नहोस् ।’

खासमा करिब एक महिनाअघि अर्थमन्त्रीले बैंकरहरुलाई छलफलका लागि बोलाएका थिए । सो क्रममा ब्याजदर घटाउनका लागि मैले के गरिदिनुपर्छ भनी उनले सोधेका थिए । अधिकांश बैंकरले स्थानीय निकायको रकममध्ये ६० प्रतिशतलाई निक्षेपमा गणना गर्न दिइए ब्याजदर घट्ने दाबी गरेका थिए । त्यही विषयलाई अगाडि सार्दै अर्थमन्त्रीले असोजमा ब्याजदर घटाउन भनेका हुन् ।  

साताअघि अर्थमन्त्री डा. महतले केही सिनियर बैंकरहरुलाई सिंहदरबारमा डाकेका थिए । सो क्रममा बैंकको अवस्थाको विषयमा लामो समयसम्म छलफल भएको विदेशी लगानी समेत रहेको एक बैंकका सीइओले बिजशालालाई बताए । ‘हामीलाई ब्याजदर बढ्ने÷नबढ्ने अवस्थाको विषयमा समेत उहाँले चासोपूर्वक सोध्नुभएको थियो ।’ ती सीइओले भने–‘हामीले ‘मन्त्रीज्यूले चाहेजस्तो ब्याजदर घट्ने अवस्था छैन’ भन्यौं । अर्थमन्त्री ज्यू त एकाएक रिसाउनुभयो । त्यसो भनेर पनि हुन्छ ? तपाईहरुले भनेअनुसार मैले गरिदिएको छु, ब्याजदर बढाएर मलाई लज्जित नबनाउनुहोला भन्नुभयो ।’ 

पुराना ती बैंकरकाअनुसार केही बैंकले सहजै ब्याजदर घटाउने अवस्था भए पनि कर्जा–निक्षेप अनुपातका कारण कतिपय बैंकले भने चाहेर पनि ब्याजदर घटाउनसक्ने अवस्था छैन । यस्तो अवस्थामा कुन बाटोबाट अगाडि बढ्ने र ब्याजदर घटाएर लैजाने भन्ने विषयमा सरोकारवालाबीच दैनिकजसो छलफल चलिरहेको छ । 

यो बीचमा अर्थमन्त्री डा. महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीलाई मन्त्रालयमै बोलाएर असोजमा ब्याजदर घटाउने गरी आवश्यक समन्वय गर्न निर्देशन दिइसकेका छन् । ‘स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न दिने व्यवस्था लगायतका विषयमा कुरा गर्ने क्रममा अर्थमन्त्री ज्यूले एनबीए अध्यक्षलाई समेत असोजमा ब्याजदर घटाउनुपर्ने प्रष्ट निर्देशन दिनुभएको छ ।’ अर्थमन्त्री निकट स्रोतले भन्यो–‘एनबीएबाट आवश्यक समन्वय गरिने वचनबद्धता आएको छ । असोजमा ब्याजदर घटाउनुको अर्को विकल्प नै नरहेको मन्त्री ज्यूको प्रष्ट कुरा छ ।’ 

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य कर्जा थुप्रिएको र चर्को ब्याजदरकै कारण तुलनात्मक रुपमा कम कर्जा गएको विश्लेषण अर्थमन्त्रीको छ ।

पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको दाबी गर्दै आएका डा. महतले ब्याजदर सस्तो भए कर्जा प्रवाह बढ्ने र त्यसले समग्र आर्थिक क्रियाकलापमा बढोत्तरी भई अर्थतन्त्रमा राहात हुने धारणा राख्ने गरेका छन् ।