-सोमनाथ बास्तोला

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लचिलो बन्ने संकेत दिएपछि केही वाणिज्य बैंकहरुले हकप्रदमार्फत पूँजी थपेर व्यवसाय थप विस्तारको रणनीति बनाउन थालेका छन् । 

पूँजीकोष टाइट भएर थप व्यवसाय बिस्तार गर्न नपाएका वाणिज्य बैंकहरुले हकप्रद सेयर निश्कासनको अजेण्डालाई सञ्चालक समितिसम्मै पुर्याएर छलफल गर्न थालेका हुन् । 

क्यापिटल एडूकेसी टाइट भएका कारण गत वर्षदेखि नै उद्योगको लिडर बैंक एनआइसी एशियाले थप व्यवसाय विस्तार  गर्न पाएको छैन । यो बैंकको सञ्चालक समिति र उच्च व्यवस्थापनको केन्द्रीय बैंकसँग ‘राम्रो’ सम्बन्ध छ । 

पछिल्लो समय यस बैंकका उच्च अधिकारी तथा सञ्चालकले आफूहरु मर्जरमा नजाने, बरु आफैं पूँजी पुर्याएर ठूलो बन्ने रणनीतिमा रहेको कुरामा जोड दिइरहेका छन् । उनीहरुले ‘पूँजी आफैं बढाएर जाने’ भनी पछिल्लो समय घनिभूत रुपमा व्यक्त गरिरहेका मत पछाडिको कारण बोनस सेयर दिने मात्र छैन । यो बैंकले सुरुवाती चरणमै कम्तीमा ३० प्रतिशतसम्म हकप्रद निश्कासनको तयारी गरेको छ । यसका लागि एनआइसी एशियाले पटक–पटक राष्ट्रबैंकमा तीव्र लविङ गर्दै आएको छ । ‘अलिक पहिलासम्म राष्ट्रबैंक हकप्रद दिने कुरामा सकारात्मक थिएन । तर, हामीले यो इस्यूलाई तर्क र कारणसहित लगातार प्रिजेन्ट गर्न छाडेनौं । अहिले अवस्था फेरिएको छ । राष्ट्रबैंकका अधिकारी यो विषयमा लचक देखिन थालेका छन् ।’ बैंकका एक सञ्चालकले भने–‘यहीकारण हामी हिजोआज उत्साहित छौं । हामी आजको विषम परिस्थितिमै पनि थप पूँजी लगाउन तयार छौं । राष्ट्रबैंक सकारात्मक बन्दै जाँदा अब पूँजीकोष टाइट भएका बैंकहरुले पूँजी थपेर व्यवसायको साइज बढाउने बाटो सहज बन्दै गएको अनुभूत हुन थालेको छ ।’ 

एनआइसी एशिया बैंकको कन्फिडेन्टले समग्र बैंकिङ उद्योगमै सकारात्मक तरङ्ग ल्याएको पाइएको छ । एनआइसी एशियाले माग गर्दै आएको हकप्रदको विषयमा राष्ट्रबैंकका अधिकारी लचिलो बन्न थालेका सूइको पाएपछि अन्य केही बैंकले समेत यो विषयलाई अजेण्डाको रुपमा अगाडि बढाएका स्रोतको भनाई छ। 

हकप्रद जारी गरेर थप व्यवसाय गर्ने वातावरण बनाउने बाटोमा एनआइसी एशियालाई प्रभू बैंकले समेत पछ्याउन थालेको छ । प्रभू बैंकले हकप्रद जारी गरेर पूँजी थप्ने विषयलाई सञ्चालक समितिमै अजेण्डाको रुपमा प्रस्तुत गरिसकेको छ । केही समयअघिको प्रभू बैंकको सञ्चालक समितिमा हकप्रद जारी गरेर पूँजीको आकार बढाउने कुरालाई लिखित अजेण्डाको रुपमा प्रस्तुत गरिएको छ । प्रभू बैंकका एक सञ्चालकले भने–‘एनआइसी एशिया लगायतका बैंकहरुलाई हकप्रद दिने कुरामा राष्ट्रबैंक लचिलो बनेको संकेत पाएसँगै हामीले पनि पूँजी वृद्धिको रणनीतिअन्तर्गत हकप्रदको अजेण्डालाई अगाडि बढाएका छौं । हकप्रद जारी गरेर पूँजीको आकार ठूलो बनाउने र व्यवसाय विस्तार गर्ने कुरामा सञ्चालक समितिमा एकमत छ।’ 

पूँजीकोष टाइट भएका अन्य वाणिज्य बैंकहरुले पनि हकप्रदको विषयमा छलफल थालेका बैंकरहरु बताउँछन् । ‘पूँजी थपेर व्यवसाय बढाउँछु भन्ने बैंकहरुलाई केन्द्रीय बैंकले अब रोक्ने अवस्था देखिन्न र रोक्ने कारण नै छैन ।’ एक बैंकरले भने–‘बिग मर्जर अब चर्चाबाहिर छ । अब भएका बैंकहरुले पूँजी थपेरै भए पनि व्यवसाय विस्तार गर्छु भन्छन् भने तिनीहरुलाई खोलिदिए हुने देखिन्छ ।’ 

हुन त हकप्रद जारी गर्न पाउनुपर्ने अजेण्डा वाणिज्य बैंकका सीइओहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले महिनौदेखि उठाउँदै आइरहेको छ । एनबीएका कतिपय पदाधिकारी पनि हकप्रदको विषयमा केन्द्रीय बैंक पछिल्लो समय नरम बन्न थालेको बताउँछन् । 

वाणिज्य बैंकलाई हकप्रद जारी गर्न बाटो खोलिदिए आफूहरुले पनि पाउने आशामा विकास बैंकहरु पनि छन् । विकास बैंकका सीइओहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स संघ(डिबान)ले त हकप्रद जारी गर्न पाउनुपर्ने माग उठाएको महिनौं भइसक्यो । 
प्रिमियम लिनुपर्ने आवाज

हकप्रदका लागि छलफल भई सञ्चालक समितिबाट रणनीतिको अजेण्डाकै रुपमा अगाडि बढाइसकेका बैंकका कतिपय सञ्चालक र उच्च व्यवस्थापनले भने हकप्रद सेयर जारी गर्नुभन्दा बरु प्रिमियममा एफपीओ जारी गरेर पूँजी थप्नुपर्ने मत समेत अगाडि सार्न थालेका छन् । ‘हकप्रद जारी गर्दा हिजोअस्ती सेयर किन्नेहरुलाई पनि अंकित दर(अर्थात रु. १००)मै सेयर दिनुपर्ने हुन्छ । वर्षौअघि नै रु. १०० लगानी गर्ने लगानीकर्तालाई यसले अन्याय हुन्छ कि भन्ने आवाज पनि उठेको छ ।’ एक वाणिज्य बैंकका सञ्चालकले भने–‘त्यसकारण एफपीओ पनि अर्को विकल्प हुनसक्छ ।’