– रेखा चन्द

काठमाण्डौ । पुस मसान्त नजिकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई वार्षिक साधारणसभा (एजीएम) गर्न भ्याइनभ्याई भएको छ। 

विशेषगरी सूचीकृत कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुुस महिनाभित्र अघिल्लो आर्थिक वर्षको एजीएम गरिसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार पुस मसान्त नजिकिएसँगै बैंक तथा वित्तीय संस्थालाई एजीएमको चटारो परेको हो। 

पुस महिनाको अन्तिम दिन (३० गते) १० वटा बैंक तथा वित्तीय संस्थाले एजीएम बोलाएका छन्। अघिल्लो दिन (२९ गते) पनि १० वटै बैंक तथा वित्तीय संस्थाले एजीएम डाकेका छन्।

यसो त हरेक वर्षजसो पुस मसान्तको अन्तिम दिन नै अधिकांश बैंक तथा वित्तीय संस्थाले एजीएम बोलाउने गर्दछन्। कतिपयले बाध्यताले र कतिपयले नियतवश पुस मसान्तमै एजीएम बोलाउने प्रवृत्ति रहेको लगानीकर्ताहरुको गुनासो छ। एजीएमको दिन र समय जुध्दा आफूहरुलाई समस्या पर्दै उनीहरुको भनाइ छ। आफू सेयरधनी भएका संस्थाहरुले एकैदिन र एकै समयमा एजीएम बोलाउँदा उनीहरुलाई उपस्थितिमा कठिनाइ हुँदै आएको हो।

गत आर्थिक वर्षको एजीएम अहिलेसम्म १३ वटा वाणिज्य बैंकले सकिसकेका छन्। माछापुच्छ्रे, नबिल, एनआईसी एसिया र नेपाल बैंकको एजीएम एकैदिन (पुस २९ गते) हुँदैछ। यी बैंकले बिहान ९ बजेदेखि बिहान ११ बजेको बीचमा एजीएम गर्दैछन्। 

यसैगरी सिद्धार्थ, लक्ष्मी, हिमालयन, प्राइम र सिभिल बैंकको एजीएम पनि एकैदिन र एकै समयमा परेको छ। यी बैंकले पुस २८ गते बिहान ११ बजे एजीएम आह्वान गरेका छन्। एनएमबि र नेपाल एसबीआई बैंकले पनि एकैदिन पुस २५ गते क्रमशः बिहान ९ र ११ बजे डाकेका छन्। 

त्यसैगरी गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गर्ने ६ विकास बैंकले पनि पुस महिनाको अन्त्यतिर एजीएम डाकेका छन्। जसमा पुस २२ मा गरिमा विकास, पुस २५ मा शाइन रेसुंगा, पुस २६ मा लुम्बिनी विकास, पुस २७ मा मितेरी, पुस २९ महालक्ष्मी र पुस ३० मा मुक्तिनाथ विकास बैंकले एजीएम गर्दैछन्। 

त्यसैगरी लाभांश प्रस्ताव गरेका ७ वटा फाइनान्स कम्पनीले पुुस २९ र ३० गते साधारणसभा बोलाएका छन्। श्री इन्भेस्टमेन्ट, सेन्ट्रल, आईसीएफसी र मञ्जुश्री फाइनान्सको एजीएम जुधेको छ। यी कम्पनीले पुस २९ गते लगभग उस्तै समयमा एजीएम गर्दैछन्। 

यस्तै पुस ३० गते पोखरा, मल्टीपर्पस र नेपाल फाइनान्सको एजीएम हुँदैछ। पोखरा फाइनान्सको बिहान ९ बजे एजीएम हुँदा बाँकी दुई फाइनान्सको ११ बजेदेखि सुरु हुनेछ। 

उता अधिकांश लघुवित्त संस्थाको पनि पुस ३० गते नै साधारणसभा हुँदैछ। फर्स्ट, फरवार्ड, सिवाईसी, गुराँस, साधना र मिर्मिरे लघुवित्तको एजीएम एकैदिन हुँदैछ। फरवार्डबाहेक अन्यको बिहान ११ बजे एजीएम सुरु हुनेछ। त्यसको अघिल्लो दिन अर्थात पुस २९ गते आरएसडीसी लघुवित्तको एजीएम हुँदैछ।

सेयर लगानीकर्ताले लामो समयदेखि पुस मसान्तभन्दा अगावै कम्पनीहरुले एजीएम गर्नुपर्ने माग गर्दै अएका छन्। अधिकांश कम्पनीले नियतवश एजीएम गर्न पुस मसान्त कुर्ने गरेको आरोप उनीहरुको छ। 

सेयरधनी डमरु बल्लव घिमिरे धेरैजसो कम्पनीले नियतवश नै पुस मसान्तमै एजीएम बोलाउने बताउँछन्। ‘एकातिर बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले अन्तिम स्वीकृति ढिलाइ गर्छ’, उनले भने, ‘त्यसमाथि पनि एकैपटक धेरै कम्पनीलाई स्वीकृति दिँदा पुस मसान्तमा एकैपटक एजीएम जुध्छ।’

घिमिरेले कम्पनीहरुको नियत राम्रो भएमा एजीएमको समय ११ बजेमात्रै हुन नहुने बताए। ‘सबै कम्पनीले ११ बजेको समयमात्रै किन राख्ने ?’, प्रश्न गर्दै उनले भने, ‘सकेसम्म सेयरधनी नआऊन् भन्ने नियत उनीहरुको देखिन्छ।’

कम्पनीको एजीएमको एकैदिन र एकै समयमा हुँदा लगानीकर्ता मर्कामा परेको घिमिरेको भनाइ छ। उनले पुस मसान्तपछि १ दिनमात्रै ढिला हुँदा पनि जरिवाना तिर्नुपर्ने हुँदा यसरी एजीएम बोलाउने गरिएको बताए।

राष्ट्र बैंकबाट बेलैमा वित्तीय विवरण स्वीकृत नहुँदा पुस मसान्तमै थुप्रै बैंक तथा वित्तीय संस्थाको एजीएम डाक्नुपरेको एक बैंकरले बताए। ‘धेरैजसो बैंक तथा वित्तीय संस्थाले दसैँ–तिहारको आसपासमै वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक पठाउँछन्’, ती बैंकरले भने, ‘तर, राष्ट्र बैंकले वित्तीय विवरण अध्ययनमा समय लगाउने भएकोले स्वीकृत गर्न ढिलो हुन्छ। त्यही भएर प्रायः पुसमै बैंक तथा वित्तीय संस्थालाई एजीएम गर्ने चटारो पर्छ।’