काठमाण्डौ । आज कात्तिक १६ गतेबाट बैंकिङ समय अपराह्न ३ बजेसम्म हुनेछ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक समयतालिका अनुसार आजबाट बैंकिङ समय १ घन्टा कम हुने भएको हो। 

राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म बैंकिङ समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म बैंकिङ समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १२ः३० बजेसम्म बैंकिङ समय हुनेछ।

यसैगरी राष्ट्र बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजदेखि अपराह्न ५ बजेसम्म बैंकहरुको कार्यालय समय रहने तोकेको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म कार्यालय समय हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म कार्यालय समय हुनेछ।

उता सरकारी कार्यालयहरु पनि आजदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। सोहीअनुसार सरकारी कार्यालयहरु आजबाट अपराह्न ४ बजेसम्म मात्रै खुल्ने भएका हुन्। 

जाडोयाममा सरकारी कार्यालयको दैनिक सेवा समय १ घन्टा कम हुने प्रावधानअनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ। 

राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख १ गतेदेखि  कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।