काठमाण्डौ । बैंकिङ प्रणालीमा पछिल्लो ४ दिनमा ४५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यो अवधिमा कर्जा लगानी भने १० अर्ब रुपैयाँले घटेको छ। 

निक्षेप थपिने क्रम दैनिकजसो बढ्न थालेपछि बैंकहरुको औसत सीडी रेसियो पनि घट्दै गएको छ। 

पछिल्लो तथ्यांकअनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५१ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत असार २२ गतेसम्म कुल निक्षेप ५० खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४५ अर्ब रुपैयाँले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने घटेर असार २६ गतेसम्म ४६ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ। गत असार २२ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १० अर्ब रुपैयाँले घटेको छ। 

प्राप्त तथ्यांकअनुसार असार २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो घटेर ८७.१६ प्रतिशतमा झरेको छ। गत असार २२ गतेसम्म औसत सीडी रेसियो ८८.०६ प्रतिशत थियो।

वाणिज्य बैंकहरुको सीडी रेसियो पनि घटेर ८७.२३ प्रतिशतमा झरेको छ। 

अहिले बजारमा तरलता संकटका कारण विभिन्न क्षेत्र प्रभावित रहेको अवस्था छ। बैंकहरुले पैसा नभएकै कारण ऋण नदिइरहेको गुनासो बढिरहेको छ। 

नेपाल राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थाहरुको कर्जा र निक्षेप अवस्था दैनिकजसो सार्वजनिक गर्नुपर्छ। तर, पछिल्लो ४ दिनदेखि राष्ट्र बैंकको वेबसाइटमा कर्जा, निक्षेप र सीडी रेसियोको तथ्यांक अपडेट गरिएको छैन। 

यसले राष्ट्र बैंकजस्तो निकायबाट सामान्य तथ्यांक अपडेटमा चरम लापरबाही भइरहेको प्रस्ट हुन्छ।