काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३० प्रतिशत रुसबाट किन्ने गर्दथ्यो।

रुसी तेलको आयातमा प्रतिबन्धले युरोपेली युनियनलगायत युरोपभरि आपूर्ति अभाव सिर्जना गर्न सक्ने विश्वास गरिएको थियो। यो युरोपका लागि अझ चिन्ताजनक थियो। किनकि पहिले नै उच्च मुद्रास्फीति दरसँग संघर्ष गरिरहेको थियो। तर, यो प्रतिबन्धको बाबजुद युरोपमा रुसी तेलको आपूर्ति भइरहेको छ। 

रुसको कच्चा तेल सीधै युरोपमा नपुगेकाले त्यहाँका तेल प्रशोधन गर्ने कम्पनीहरुसामु उत्पादनको समस्या खडा भएको छ। तर, भारतका निजी क्षेत्रका रिफाइनरीहरुले यसलाई युरोपमा आपूर्तिको खाडल भर्ने राम्रो अवसरका रुपमा लिएका छन्।

तथ्यांकअनुसार गत वर्षको जनवरीसम्ममा भारतबाट युरोपेली संघका मुलुकतर्फ प्रशोधित पेट्रोलियम पदार्थको निर्यात लगातार ५ महिनासम्म बढेको थियो। यो महिना १९ लाख टन पुगेको छ। यो आर्थिक वर्ष २०२२–२३ को सबैभन्दा उच्च मासिक संख्या हो। 

अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म भारतबाट युरोपमा निर्यात हुने रिफाइन्ड पेट्रोलियमको निर्यात बढेर ११.६ मिलियन टन पुगेको छ। जसका कारण युरोपियन युनियन भारतबाट रिफाइन्ड पेट्रोल उत्पादन आयात गर्ने २० क्षेत्रमध्ये शीर्ष स्थानमा पुगेको छ।

यस अवधिमा भारतबाट प्रशोधित पेट्रोल उत्पादनको १५ प्रतिशत निर्यात युरोपेली बजारमा मात्र भएको थियो। पछि बढेर २२ प्रतिशत पुग्यो।

ब्लुमबर्गका अनुसार रुसको पेट्रोलियम उत्पादनमा युरोपेली संघले प्रतिबन्ध लगाएपछि भारतको यस बजारमा रिफाइन्ड पेट्रोलियम उत्पादनको निर्यात लगातार बढेको छ र अब भारतको सबैभन्दा ठूलो आपूर्तिकर्ता बन्ने बाटोमा छ।

अमेरिका र युरोपले लगाएको प्रतिबन्धपछि पनि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियत दरमा कच्चा तेल खरिद गरिरहेको छ।

गत वर्ष फेब्रुअरीमा सुरु भएको रुस–युक्रेन युद्धअघि भारतको आयात बास्केटमा रुसी तेलको हिस्सा १ प्रतिशत मात्र थियो तर १ वर्ष अर्थात् २०२३ को फेब्रुअरीमा यो हिस्सा बढेर ३५ प्रतिशत पुगेको छ। त्यतिबेलासम्म भारतले रुसबाट दैनिक १६.२ ब्यारेल तेल खरिद गरिरहेको थियो।

यस वर्षको मार्चमा रुसी उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक आफैँले आफ्नो देशले भारतलाई पछिल्लो १ वर्षमा २२ प्रतिशतले तेल बिक्री बढाएको बताएका थिए। चीन र अमेरिकापछि भारत तेलको तेस्रो ठूलो खरिदकर्ता हो। तर, अमेरिकी र युरोपेली प्रतिबन्धपछि रुसले आफ्नो तेल सस्तो बनाएपछि भारतका लागि तेलको भण्डार बढाउने राम्रो अवसर थियो।

भारतका निजी तेल रिफाइनरीहरुले अब रुसबाट बढेको तेल आपूर्तिको फाइदा उठाउँदैछन् र उनीहरुले युरोपलाई आफ्नो उत्कृष्ट बजारका रुपमा हेर्छन्।

भारत विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन गर्ने देशमा पर्छ। भारतीय रिफाइनिङ कम्पनीहरुले आपूर्ति बढाएपछि युरोपेली बजारमा तेलको संकट नियन्त्रण हुन नसक्दा यसअघि नै तेलको भाउ बढ्ने आशंका गरिएको थियो।

भारत कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। तर, भारतको रिफाइनरी क्षमता आन्तरिक मागभन्दा धेरै छ। यो कारणले गर्दा अतिरिक्त आपूर्ति युरोपेली बजारमा बढ्दै गएको छ। जसका कारण भारतीय रिफाइनिङ कम्पनी रिलायन्स र रुसी इनर्जी ग्रुपप रोजनेफ्टको सेयर कम्पनी नायराले राम्रो फाइदा पाइरहेका छन्।

युरोपेली युनियनले रुसको तेलमा प्रतिबन्ध लगाए पनि भारतबाट धेरै तेल खरिद गरिरहेको छ। यो पनि रोचक छ कि रुसबाट सस्तो कच्चा तेल किन्ने भारतको कदमप्रति युरोपेली देशहरुले असन्तुष्टि जनाएका थिए।

सन् २०२२ को डिसेम्बरमा भारत आएकी जर्मन विदेशमन्त्री एनेलिना बेर्बकले रुसबाट तेल किनेकोमा भारतसँग गुनासो गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले विगत ९ महिनामा युरोपेली युनियनले तेलको छैटौँ हिस्सा मात्र भारतले किनेको बताएका थिए। 

यद्यपि, भारतका रिफाइनिङ कम्पनीहरुले ग्लोबल आयल सप्लाईलाई यथावत राखेमा अमेरिका र धेरै पश्चिमी देशहरुका लागि राहतको कुरा हुनेछ। किनकि भारतबाट त्यहाँको प्रशोधित पेट्रोलियम पदार्थ बजारमा आउन सक्छ र आपूर्तिको अवस्था राम्रो रहन्छ। यो युरोप र अमेरिका दुवैको हितमा छ। खासगरी युरोपका लागि किनकि बढ्दो मुद्रास्फीतिलाई ध्यानमा राख्दै त्यहाँ तेलको मूल्य खतराको घन्टी हो।

तेलको विश्वव्यापी आपूर्तिलाई झट्काबाट जोगाउनका लागि भारतीय रिफाइनिङ कम्पनीहरुको निर्यात बढ्नु राम्रो संकेत हो भन्ने अमेरिका र युरोपले महसुस गरिरहेका छन्। यसबाट भारतीय रिफाइनिङ कम्पनीहरुले विशेष फाइदा उठाइरहेका छन्। सस्तो रुसी तेलका कारण तिनीहरुको प्रशोधन लागत घटेको छ र मार्जिन बढेको छ। –बीबीसीबाट भावानुवादित