काठमाण्डौ । चालु आर्थिक वर्षमा १० वाणिज्य बैंकहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भई ५ वटामा कायम भएका छन्।

हाल कुल २१ वटा वाणिज्य बैंक रहेकोमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएका ५ बैंक विभिन्न वित्तीय सूचकमा ठूला बनेका छन्। दुई बैंक एक हुँदा पुँजी बढ्नुका साथै वित्तीय पहुँच पनि बढेको छ। शाखा सञ्जाल, एटीएम, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङलगायतका सेवाको पहुँच बढेको छ। अर्थात बैंकहरुका सेवासुविधा फैलिँदा बैैंकहरुका ग्राहकलाई थप सहज भएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म वाणिज्य बैंकको कुुल संख्या ५ हजार २९ छ। जसमा मर्जरपछि कायम भएका ५ बैंकको हिस्सा ठूलो छ। एकीकृत कारोबारपछि ५ बैंकका मात्रै देशभर १ हजार ४०० बढी शाखा सञ्जाल सञ्चालनमा छन्। 

तत्कालीन बैंक अफ काठमाण्डूलाई गाभेको पुसदेखि एकीकृत कारोबार थालेको ग्लोबल आइएमई बैंकका देशभर सबैभन्दा ३६५ शाखा सञ्जाल फैलिएका छन्। यस्तै तत्कालीन एनसीसी बैंकलाई प्राप्ति गरी गत पुसबाटै एकीकृत कारोबार सुरु गरेको कुमारी बैंकले आफ्ना २५ लाख ग्राहकलाई ३०६ शाखाबाट वित्तीय सेवा दिइरहेको छ।

तत्कालीन मेगा बैंकलाई मर्जर गरी बनेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि २९६ शाखा कार्यालयबाट ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। 

त्यसैगरी सेञ्चुरीसँगको एकीकृत कारोबारपछि प्रभु बैंकको शाखा संख्या २६५ पुगेको छ। गत शुक्रबारदेखि सिभिल बैंकलाई गाभेर एकीकृत कारोबार गरेको हिमालयन बैंकले मर्जरपछि नेपालभर १८९ शाखाहरु रहेको जनाएको छ। 

एटीएम र शाखारहित बैंकिङ सेवा पनि विस्तार

मर्जर तथा प्राप्तिपछि बनेका बैंकहरुको शाखा सञ्जालमात्रै नभई एटीएम र शाखारहित बैंकिङलगायतका सेवा पनि बढेका छन्। ग्लोबल आइएमई बैंकले हाल ३६७ एटीएम र २८६ शाखारहित बैंकिङ सेवाबाट वित्तीय सेवा प्रदान गरिरहेको छ। 

कुमारी बैंकले देशभर कुल एटीएम संख्या ३४४ र ६२ वटा शाखारहित बैंकिङ इकाइ ग्राहकमाझ सेवा प्रवाह गरिरहेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखारहित बैंकिङ सेवा १०९ तथा एटीएम सञ्जाल २७९ पुगेको छ। 

त्यसैगरी प्रभु बैंकका ३०९ एटीएम सञ्चालनमा छन् भने हिमालय बैंकले २६३ भन्दा बढी एटीएम बुथबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।