काठमाण्डौ । मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको छ। 

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ। प्रभु लाइफको बोनस सेयर जारीपछि मर्जरपछि दुवै कम्पनीको गरी ४२९.६ करोड चुक्तापुँजी हुनेछ। बीमा प्राधिकरणले तोकेको ५०० करोड चुक्तापुँजीका लागि एकीकृत कारोबारपछि ९० करोड रुपैयाँबराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति भएको हो। 

असार महिनाभित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागिसकेको छ। यसै सिलसिलामा संयुक्त मर्जर समितिको निर्णयअनुसार दुवै कम्पनीको भावना प्रतिविम्बित हुने गरी तयार गरिएको तथा एकीकृत कारोबारपछि प्रचलनमा ल्याइने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’को लोगो पनि सार्वजनिक गरिएको छ। 

प्रभु लाइफ र महालक्ष्मी लाइफको देशैभरि १६७ शाखा तथा उपशाखा सञ्चालनमा भई ४४९ कर्मचारी कार्यरत रहेका छन्।