काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले आगामी पुस १३ गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो वार्षिक साधारणसभा बिहान ११ बजे आह्वान गरेको हो । 

सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई चुक्तापूँजीको ३.७५ प्रतिशतका दरले बोनस सेयर तथा करसहित ६.८० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पेश हुनेछ । बैंकले ६८ करोड ८२ लाख बराबरको नगद लाभांश र ३७ करोड ९५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । 

सभामा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने(मर्जर) वा प्राप्ति(एक्वीजिसन) गर्न आवश्यक सहमति र सम्झौता लगायतका सबै काम गर्ने अधिकार सञ्चालक समितिलाई दिने अजेण्डा समेत पेश हुने बताइएको छ । 

आर्थिक वर्ष २०७९-८० का लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.ब. २०७९-८० को वार्षिक आर्थिक विवरण छलफल गरी पारित गर्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् । 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर २९ गते एकदिनका लागि बुक क्लोज गर्नेछ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन चाहने र आगामी वार्षिक साधारणसभामा सहभागी हुन चाहनेले मंसिर २८ गतेसम्म यो कम्पनीको सेयर किनेर सेयरधनी कायम बनिसक्नुपर्नेछ ।