काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ ।

जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत छ ।

गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत विन्दुले कम हो । गतवर्षको यस अवधिमा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार चालू आवको असोज महिनासम्म पनि वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५ प्रतिशत रहेको थियो । त्यस्तै चालू अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ ।

त्यस्तै, कात्तिक महिनामा काठमाण्डौ उपत्यकामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत, तराईमा ४.४२, पहाडमा ६.०७ प्रतिशत र हिमालमा ८.७९ प्रतिशत छ ।

यसैगरी, विदेशी मुद्राको सञ्चिति बढेर १७ खर्ब रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार गत कात्तिकसम्म विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

यसअघि गत असारसम्म विदेशी मुद्रा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ  थियो । चालू आवको चार महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेको छ ।