काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको प्रमुख वित्तीय सूचक सही बाटोमा लगेको भन्दै ग्लोबल फाइनान्सियल म्यागजिनले उनको ग्रेड बढेको प्रष्टीकरण दिएको छ । 

सो म्यागजिनले प्रत्येक वर्ष विश्वका विभिन्न देशका केन्द्रीय बैंक प्रमुखहरुको कामका आधारमा उनीहरुको ग्रेड निर्धारण गरी प्रकाशन गर्दै आएको छ । 

सन् २०२२ का लागि गभर्नर अधिकारीको ग्रेड खस्किएर सीमा सीमित बन्न पुगेको थियो । सन् २०२३ का लागि भने उनको ग्रेड एक खुड्किलो माथि उठेर ‘बी माइनस’ भएको छ । 

गभर्नर अधिकारीले वित्तीय सूचकहरु सही बाटोमा ल्याएका भन्दै ‘बी माइनस’को ग्रेड पाएका पत्रिकाले दाबी गरेको छ । पत्रिकाले विशेष गरी समस्याग्रस्त बनेको बाह्य क्षेत्रमा गरेको सुधारको श्रेय दिंदै गभर्नरको ग्रेड बढुवा गरेको देखिन्छ । 

झण्डै ३ महिनाको वस्तु तथा सेवा आयात गर्ने अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिती बढाउन तथा अर्थतन्त्रको बाह्य क्षेत्र सुधार गर्न गभर्नर अधिकारीले प्रयासहरु गरेका थिए । त्यसको रिजल्ट देखिएका कारण समेत पत्रिकाले उनको ग्रेड बढाएको अनुमान गर्न सकिन्छ । 

पत्रिकाले गभर्नर अधिकारीको ग्रेड बढेको विषयमा संक्षित विवरण लेख्दै भनेको छ-'नेपाल राष्ट्र बैंक (एनआरबी)का गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा प्रमुख वित्तीय सूचकहरू ‘सही बाटोमा’ लगेका छन् । आर्थिक रूपमा महत्वपूर्ण वैदेशिक श्रमिक रेमिट्यान्स त्यस समयमा २५ प्रतिशतभन्दा धेरैले बढ्यो । कुल विदेशी मुद्रा सञ्चिति १५ प्रतिशतले बढ्यो र लगभग ११ महिनाको आयात धान्नसक्ने क्षमता बन्यो । निजी क्षेत्रको आलोचनाको जवाफमा अधिकारीले नेपालको बजारले निर्धारण गरेको छोटो अवधिको ब्याजदर निकै उच्च रहेको बताए । तर, अप्रिलमा राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याजदरलाई २० आधार अंकले घटाउनुपर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार मुद्रास्फीति अघिल्लो वर्षको ८.६ प्रतिशतको तुलनामा जुलाईमा ७.४ प्रतिशतमा झरेको छ भने थोक मुद्रास्फीति १५ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ ।'

एशिया प्रशान्त क्षेत्रका देशका केन्द्रीय बैंक प्रमुखहरुमध्ये भारतका शशीकान्त दासले 'ए प्लस'को ग्रेड पाएका छन् भने इण्डोनेशियाका केन्द्रीय बैंक प्रमुखले 'ए मानइस' ग्रेड पाएका छन् । 

भियतनामका केन्द्रीय बैंक प्रमुखले पनि 'ए प्लस'कै ग्रेड पाएका छन् । ताइवान र न्यूजील्याण्डका गभर्नरले 'ए' को ग्रेड पाएका छन् भने श्रीलंका र दक्षिणकोरियाकाले 'ए माइनस' पाएका छन् । 

थाइल्याण्ड, उज्वेकिस्तान, मंगोलिया, अजरबैजान र हङकङका केन्द्रीय बैंक प्रमुखले 'बी प्लस'को ग्रेड पाएका छन् । 

किर्गिस्तान र सिंगापुरका केन्द्रीय बैंक प्रमुखले नेपालका गभर्नरले जस्तै बी माइनसको ग्रेड पाएका छन् ।