काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई मालामाल बनाइदिएको छ । 

बैंकको बुधबार सम्पन्न ३१ औं वार्षिक साधारणसभाबाट सेयरधनीलाई सतप्रतिशत बोनस वितरणको प्रस्ताव पारित भएको हो । सेयर बजारको हटकेक बैंकको सतप्रतिशत बोनस सेयर पाएर सेयरधनी मालामाल बनेका हुन् । 

बैंकको साधारणसभाले सतप्रतिशत बोनसको कर प्रयोजनका लागि ५.२६ प्रतिशत नगद लाभांश पनि सेयरधनीलाई दिने निर्णय गरेको छ । 

साधारणसभामा उपस्थित सेयरधनीलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष जितेन्दर अरोराले आफूहरु ग्राहकहरुलाई सहयोग गर्दै नेपालको आर्थिक विकासमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए । बैंकले गत आवमा १ अर्ब ४२ करोड नाफा आर्जन गरेको थियो । बैंकले एफपीओ निश्कासन गरी सोबाट प्राप्त प्रिमियम र नाफाबाट सेयरधनीलाई सतप्रतिशत बोनस दिएको हो ।

एफपीओपछि बैंकमा स्ट्याण्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

स्वदेशी लगानीका बैंकहरुले हकप्रदमा बढी जोड दिएर राष्ट्रबैंकले तोकेको पूँजी पुर्याए पनि स्ट्याण्डर्ड चार्टर्डले भने निकै चलाख्याईपूर्वक नेपालीहरुकै पैसाबाट पुँजी पुर्याएको हो । महंगो दरमा एफपीओ बिक्री गरी त्यसबाट प्राप्त  प्रिमियमलाई जगेडाकोषमा राखी खूद नाफा समेत जोडेर  बैंकले ४ अर्बको हाराहारीमा बोनस  दिने अवस्था सिर्जना गरेको हो । 

सतप्रतिशत बोनस पारित भएसँगै बैंकको चुक्तापूँजी सहजै ८ अर्बको उचाईमा पुगेको छ ।