काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको हिजो शनिबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा धनुषाको जनकपुरधामस्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्टमा बिहान ११ बजेबाट सुरु हु्नेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशतले लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सभाले बोनस सेयर जारीपछि जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोलृे सोहीअनुसार नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी लघुवित्तसँग आपसमा गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्यहरु गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही चैत १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाले प्रस्ताव गरेको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।