काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक गर्ने भएको छ । 

गभर्नर महाप्रसाद अधिकारी निकट स्रोतकाअनुसार केही प्राविधिक कारणले ढिलाई भएको मौद्रिक नीतिको समीक्षा शुक्रबारसम्म सार्वजनिक गरिनेछ । 

'सम्भवतः शुक्रबार नै मौद्रिक नीति सार्वजनिक हुनेछ ।' स्रोतले भन्यो-'यो हप्ता जसरी पनि आउँछ । अब धेरै समय कुरिरहनुपर्दैन ।' 

प्रधानमन्त्रीले निजी क्षेत्रसहितलाई डाक्नुभएको गोलमेच र त्यसबाट आएका सुझावलाई समेत मध्यनजर गर्नुपर्दा मंसिर पहिलो साता ल्याउन नसकिएको स्रोत बताउँछ । 'दोश्रो साता ल्याउने प्रयास पनि दुबईमा भएको संयुक्त राष्ट्रसंघको २८ औँ वार्षिक जलवायु बैठक 'कोप-२८' गर्दा नसकिएको हो । कोप २८ मा अर्थसचिव जी जानुभएको छ, उहाँ नआई मौद्रिक नीति फाइनल नहुने अवस्था भएर हो ।' स्रोतले भन्यो-'सचिवजी बुधबार आउने कुरा छ। त्यसपछि फाइनल गरेर शुक्रबारसम्म समीक्षा सार्वजनिक गर्छौ ।' 
 

अर्थसचिव पनि नेपाल राष्टबैंकको सञ्चालक समिति सदस्य हुन्। 

मौद्रिक नीतिको समीक्षामा सेयर तथा रियल स्टेट बजारलाई राहात हुने खालको नीतिहरु आउनसक्ने सम्भावना छ । यस्तो व्यवस्था गर्न सञ्चालकहरुले दवाब दिने अवस्था बनेको स्रोत बताउँछ । 

केन्द्रीय बैंकले नीतिगत दरहरुलाई समेत केही न केही घटाउने गरी तयारी गरिरहेको छ । यद्यपि मौद्रिक नीति फाइनल नै भने भइसकेको छैन ।