– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल टेलिकम औपचारिक रुपमा २०३२ सालमा नेपाल टेली कर्पोरेसनको नामले स्थापित कम्पनी हो। यो कम्पनी पछि २०६१ वैशाख १ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)का रुपमा कम्पनी ऐन, २०५३ अनुसार परिणत भएको हो। नेपालको एकमात्रै सरकारी स्वामित्वमा रहेको यो कम्पनी सर्वसाधारणदलाई  दूरसञ्चार र पछिल्लोपटक इन्टरनेट सुविधा पनि दिँदै आएको छ।  

यो कम्पनी ९१.५२ प्रतिशत संस्थापक र ८.४८ प्रतिशत सर्वसाधरणको सेयर स्वामित्व रहेको छ। यो कम्पनीमा अधिकांश संस्थापक सेयर सरकारी स्वामित्वमा रहेको छ। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ र जगेडामा ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ४०.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.५ गुणा, नेटवर्थ ५१९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति ८७४ रुपैयाँ रहेको छ। कम्पनीको रिटर्न अन इक्विटी ७.७२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यही अवधिको तुलनामा कम्पनीको रिटर्न अन इक्विटी १.८८ प्रतिशतले कम हो। 

पछिल्लो १० वर्षमा कम्पनीको औसत वार्षिक लाभांशदर ४७ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयरभाउ हाल न्युट्रल सेन्टिमेन्टमा रहेको छ। यो भनेको लगानीकर्ताको सेन्टिमेन्ट पनि न्युट्रल नै रहेको भन्ने हो। कम्पनीको ५२ साताको उच्च मूल्य ९८० रुपैयाँ रहेको छ भने न्यून मूल्य ७५८ रुपैयाँ रहेको छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा यो कम्पनीको सेयरभाउमा ६ महिनापछि बुलिस देखिएको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ। यदि सुपर ट्रेन्डमा मूल्यरेखाहरुले ट्रेन्ड लाइनलाई काटेर माथि जान्छन् अर्थात ट्रेन्ड लाइनभन्दा माथि–माथि मूल्यरेखा चल्छन् भने त्यसलाई अप ट्रेन्ट भनेर बुझिन्छ। यो कम्पनीको सेयरमा अघिल्लो साता बुलिसक्रस बनेको छ। (मुख्य तस्बिरमा हेर्नुहोस् कालो एरो)

बोलिंगर, म्याक्डी र आरएआईका आधारमा 

लामो समय साइडवेज चलेको यो कम्पनीको सेयरभाउ बोलिंगर ब्यान्डको अपर ब्यान्डमा छोएर बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै कम्पनीको सेयरमा भोलुम पनि विस्तारै बढ्दै गरेको देखिन्छ। 

म्याक्डीमा गत जुन ११ मा बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम पनि सकारात्मक र लामा–लामा हुँदै गरेको देखिन्छ। आरएसआई ६१ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीको सेयरभाउले विस्तारै अप ट्रेन्ड लिँदै गरेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३– ९७५
  • प्रतिरोध २– ९३९
  • प्रतिरोध १– ९०३

पिभट प्वइन्टः ८०३

घटेमा सपोर्ट 

  • सपोर्ट १– ७७५
  • सपोर्ट २– ७४५
  • सपोर्ट ३– ७११

निष्कर्ष

आधारभूत रुपमा बलियो रहेको नेपाल टेलिकमको सेयर दोस्रो बजारमा धेरै लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। यो कम्पनीले लगानीकर्तालाई पछिल्लो १० वर्षमा वार्षिक औसत ४७ प्रतिशत लाभांश दिएको छ। दोस्रो बजारमा यो कम्पनीको सेयरमूल्य आज ८८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो भनेको कम्पनीको प्रतिसेयर कुल सम्पतिबराबर नै हो। कम्पनीको प्रतिसेयर कुल सम्पत्ति ८७४  रुपैयाँ रहेको छ।  कम्पनीको नेटवर्थ पनि ५१९ रुपैयाँ रहेको छ। तर, अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको रिटर्न अन इक्विटीमा भने १.८८ प्रतिशतले कमी आएको छ। यो भनेको यो कम्पनीले प्रतिस्पर्धी कम्पनीसँग तीव्र प्रतिस्पर्धाको अवस्थामा रहेको भन्ने नै हो। 

प्राविधिक रुपमा यो कम्नपीको सेयरभाउमा ६ महिनापछि यो साता गति लिँदै गरेको विभिन्न इन्डिकेटरमार्फत देखिन्छ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।