काठमाण्डौ । हाल सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले बीमा कम्पनीहरुको सेयरमा लगानी बढाउँदै गएका छन् ।
विभिन्न कम्पनीहरुले सञ्चालन गरेका यी फण्डहरुले जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको सेयरमा क्रमशः लगानीको आकार बढाउँदै लगेका छन् । हाल नेप्सेमा ११ वटा जीवन बीमा र १२ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २३ वटा बीमा कम्पनी सूचीकृत छन् ।
सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले बैंक, वित्त र हाइड्रोपावर कम्पनीहरुमा लगानीको आकार बढाउने क्रममा बीमा कम्पनीको सेयरमा समेत लगानी बढाएका छन् । फण्डहरुले सेयरबजार अर्थात् सूचीकृत सेयरमा लगानीको आकार बढाएपनि पछिल्लो घट्दो बजारले गर्दा उनीहरुको नाफा आर्जनमा बृद्धि हुन भने सकेको छैन ।
सञ्चालनमा रहेका ४२ वटा म्युचुअल फण्डमध्ये कात्तिक महिनामा हिमालयन ८०–२० र एनआईसी एशिया ग्रोथ फण्ड गरी दुई वटा फण्डमात्रै नाफामा थिए भने बाँकी ४० वटा म्युचुअल फण्डले घाटा व्यहोरेका थिए ।साथै असोज महिनाको तुलनामा कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ) समेत घट्न घटेको छ ।
सूचीकृत सेयरमा लगानीको दायरा बढाएपनि पछिल्लो समय सेयरबजारमा आएको लगातार गिरावटले म्युचुअल फण्डहरुको नाफा, न्याभमा प्रत्यक्ष प्रभाव पारेको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा म्यचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा १.१५ प्रतिशतले लगानी बढाएका छन् ।
जीवन बीमा कम्पनीहरुको सेयरमा कात्तिक मसान्तसम्ममा ०.९७ प्रतिशत र निर्जीवन बीमा कम्पनीको सेयरमा ०.१८ प्रतिशतले लगानी बढेको छ । चालू आवको पहिलो महिनामा म्युचुअल फण्डहरुको लगानी १२.८९ प्रतिशत रहेकोमा कात्तिक मसान्तसम्म आइपुग्दा बृद्धि भई १३.८६ प्रतिशत पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा कम्पनीको पनि साउन महिनामा १४.२४ प्रतिशत रहेकोमा बढेर कात्तिक महिनासम्म १४.४२ प्रतिशत पुगेको छ । पछिल्लो केही महिनायता नेप्सेमा बीमा समूहका दुईवटै इन्डेक्स घटेकाले म्युचुअल फण्डहरुले घाटा व्यहोर्न पुगेको लगानीकर्ताहरु बताउँछन् ।
चालू आवेको चार महिनामा मात्रै जीवन बीमा उपसूचक १३.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक १२.१२ प्रतिशतले घटेको छ ।म्युचुअल फण्डहरुले धितोपत्र दोस्रो बजारमा बीमा कम्पनीमा लगानी थपेपनि कम्पनीहरुको सेयरमूल्य बढेको छैन। जीवन बीमा कम्पनीको तुलनामा निर्जीवन बीमा कम्पनीको सेयरमूल्य केहि हदसम्म बढी नै छ ।
केहि दिनयता जीवन तथा निर्जीवन बीमा कम्पनीका सेयरभाउहरु थोरै मात्र बढेको छ । बीमा कम्पनीहरुको लाभांश घोषणा र हकप्रद सेयर जारी हुने क्रम पनि सुरु हुँदैछ । म्युचुअल फण्डहरुले यसरी नै लगानीको दायरा बढाउँदै जाने हो भने बीमा कम्पनीका सेयरभाउहरु थप बढ्न सक्ने कतिपय लगानीकर्ताहरु बताउँछन् ।
उनीहरुका अनुसार यो अवस्थाले गर्दा आगामी महिनामा म्युचुअल फण्डहरुको आयमा समेत केहि सुधार देखिने सम्भाबना छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19