काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज(सोमबार) सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही दिन पछि मात्र आउने भएको छ । 

केही पूर्व तयारीको काम र विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने काम बाँकी रहेका कारण मौद्रिक नीति आउन केही दिन ढिला भएको हो । 

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको ब्रिफिङ बाँकी रहेकोले एकदुई दिन ढिला भएको जानकारी दिए । 

बिजशालासँग कुरा गर्दै गभर्नर अधिकारीले मौद्रिक नीति लगभग तयार भइसकेको र यही साताभित्र ल्याइने समेत जानकारी दिए । 

स्रोतका अनुसार मौद्रिक नीतिको विषयमा गभर्नरले अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार नै ब्रिफिङ गर्ने कार्यक्रम छ । 

अब एकदुई दिनमै राष्ट्रबैंकले त्यहाँको व्यवस्थापन कमिटीले तयार गरेको मौद्रिक नीतिको विषयमा छलफलसहित पारित गर्न बोर्ड बैठक डाक्नेछ । बोर्डले पारित गरेलगत्तै मौद्रिक नीति सार्वजनिक हुनेछ । 

अर्थतन्त्रका कतिपय महत्वपूर्ण सूचकहरुमा दवाब परिरहेको बेला यसपटकको मौद्रिक नीतिलाई चासोका साथ हेरिएको छ । सरकारले बजेटमार्फत लिएको ८ प्रतिशत जीडीपी ग्रोथको लक्ष्य र ७ प्रतिशतभित्र मुद्रास्फिति राख्ने लक्ष्यलाई सपोर्ट गर्ने किसिमको मौद्रिक नीतिको अपेक्षा गरिए पनि राष्टबैंक भने केही कडा नीतिको पक्षमा छ।