काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३३ करोड ८५ लाख रुपैयाँबराबरको मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार यो मुनाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने थोरै कम हो । गत वर्ष यही अवधिमा बैंकले ३४ करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । यो वर्षको दोस्रो त्रैमासमा बैंकले ४६ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । यो गत वर्ष सोही अवधिमा ४८ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमासमा बैंकले खुद ब्याज आम्दानीबापत ७२ करोड ९६ लाख रुपैयाँ कमाएको छ । जब कि गत वर्ष यही अवधिमा बैंक खुद ब्याज आम्दानी ७४ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले वितरणयोग्य मुनाफा ६२ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । 

समीक्षा अवधिमा बैंकले ७५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७० अर्ब ५० करोड निक्षेप संकलन गरी ६२ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकले रिजर्भको आकार थोरै वृद्धि गरी २ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार २ अर्ब ८२ करोड रुपैयाँ थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (पीएसई) १५.९५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १२.४१ रहेको छ ।