– मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ। 

मर्जर गई वा अन्य तरिकाबाट आफैँ पुँजी बढाउन प्रयास गर्ने ४ जीवन र ४ निर्जीवन बीमा कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए। उनका अनुसार जीवन बीमातर्फ एसियन लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफलाई हकप्रद जारी गर्न अनुमति दिइएको छ। 

यसैगरी निर्जीवनतर्फ युनाइटेड अजोड, सानिमा जीआईसी, नेको र हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई हकप्रद जारी गर्न दिने निर्णय भएको पौडेलले जानकारी दिए। 

प्राधिकरणका अनुसार सबैभन्दा बढी एसियन लाइफलाई ४२ प्रतिशत हकप्रद जारी गर्न निर्णय गरेको छ। हाल एसियन लाइफको चुक्तापुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। 

त्यस्तै सानिमा रिलायन्स लाइफलाई पनि हाल कायम चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँको २० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय गरेको छ। यसका साथै सूर्यज्योति लाइफलाई १० प्रतिशत र प्रभु महालक्ष्मी लाइफलाई १० प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय प्राधिकरणले गरेको छ। हाल सूर्यज्योतिको चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको चुक्तापुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ। 

यसैगरी प्राधिकरणले निर्जीवन बीमातर्फ सबैभन्दा बढी युनाइटेड अजोड इन्स्योरेन्सलाई ३२ प्रतिशत हकप्रद जारी गर्न दिने निर्णय गरेको छ। कम्पनीको हाल चुक्तापुँजी १ अर्ब ९० करोड रुपैयाँका आधारमा प्राधिकरणले युनाइटेड अजोडलाई ३२ प्रतिशत हकप्रद जारी गर्न दिने भएको हो। 

त्यस्तै सानिमा जीआईसी र नेको इन्स्योरेन्सले पनि २५–२५ प्रतिशतका दरले हकप्रद जारी गर्न अनुमति पाएका छन्। सानिमा जीआईसीको चुक्तापुँजी २ अर्ब र नेकोको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। 

प्राधिकरणले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई भने जम्मा १२ प्रतिशत मात्रै हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको छ। कम्पनीले हाल कायम २ अर्ब २३ करोड रुपैयाँ चुक्तापुँजीका आधारमा १२ प्रतिशत राइट सेयरको अनुमति दिने निर्णय भएको कार्यकारी निर्देशन पौडेलले जानकारी दिए।