काठमाण्डौ । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको आर्थिक पतनलाई रोक्न सफल भइरहेको छ।
गत फेब्रुअरीदेखि पश्चिमी मुलुकहरुले लगाएको प्रतिबन्धका कारण रुसलाई निकै नोक्सान भएको छ। प्रारम्भिक झट्काले रुसलाई स्टक बजारको अस्थायी बन्द गर्न बाध्य पार्यो। एटीएम बाहिर पैसाको चिन्तामा मानिसको लामो लाइन देखियो। तर, रुसको केन्द्रीय बैंकको व्यवस्थापनका कारण रुसको मुद्रा रुबल युद्धपूर्वको स्तरमा फर्किएको छ।
राष्ट्र बैंकले विदेशमा पैसा पठाउने सीमा तोकेको छ। यससँगै बैंकले निर्यात गर्ने कम्पनीलाई आम्दानीको ८० प्रतिशत डलरको सट्टा रुबलमा लिन बाध्य पारेको छ। यससँगै रुसले आफ्नो वैदेशिक ऋण चुक्ता गर्न पनि सफल भएको छ।
राष्ट्रपति पुटिनले आर्थिक मोर्चामा क्षति पुर्याउन पश्चिमाहरुले गरेको आक्रमण असफल भएको दाबी गरेका छन्। तर, इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्सकी उपप्रमुख अर्थशास्त्री एलिना रिबाकोवा भन्छिन्, ‘यी सतही संकेतहरु हुन्, जसले वास्तविक जीवनमा खासै अर्थ राख्दैन।’
युद्धको प्रभाव रुसी स्टिल निर्माता कम्पनी, रसायन निर्माता कम्पनी र कार निर्माता कम्पनीहरुमा परेको छ। अर्थात्, यी कम्पनीहरुले पश्चिमाहरुले लगाएको प्रतिबन्धको मार भोगिरहेका छन्।
रुसको केन्द्रीय बैंकले १३ हजारभन्दा बढी व्यवसायहरुको सर्वेक्षण गरेको छ। यसले धेरैलाई माइक्रोचिप, कारका पार्टपुर्जा, प्याकेजिङ, बटनसमेत देशमा ल्याउन समस्या भइरहेको देखाउँछ।
कच्चा पदार्थ र पार्टपुर्जाको अभावले कतिपय व्यवसायीले आफ्नो सञ्चालन बन्द गर्न बाध्य छन्।
उदाहरणका लागि जापानी कार निर्माता टोयोटाले रसियामा कार आयात गर्न बन्द गरेको छ। योसँगै टोयोटाले आपूर्ति शृंखला असफल भएको भन्दै गत मार्चमा नै आफ्नो सेन्ट पिटर्सबर्ग प्लान्टमा सञ्चालन रोकेको थियो।
ब्लुबे एसेट म्यानेजमेन्टका अर्थशास्त्री टिमोथी ऐस भन्छन्, ‘सबै प्रतिबन्धहरु हेर्दा तिनीहरु मानिसहरुले अपेक्षा गरेभन्दा धेरै भारी छन्। दीर्घकालीन यसको प्रभाव विनाशकारी हुनेछ। रुस पश्चिमको आपूर्ति शृंख्लाबाट काटिएको छ। किनकि पश्चिमले रुसलाई विश्वास गर्दैन। यस्तो अवस्थामा यी प्रतिबन्धहरुले रुसलाई मन्दीतर्फ धकेल्नेछ।’
बैंक अफ रसियाले पनि कर्पोरेट सामानका लागि विभिन्न बिक्रेता खोज्ने, शिपिंग कम्पनीका सामान ढुवानी गर्न अस्वीकार गर्ने, आवश्यक प्रविधि नपाउँदा मुलुकलाई ‘उल्टो औद्योगिकीकरण’को दिनमा लैजानुपर्ने अवस्था आएको स्वीकार गरेको छ। ‘वास्तविकता यो हो कि रुसको वित्तीय बजार, वृद्धि र कम जीवनस्तरमा सीमित पहुँच हुनेछ’, टिमोथी भन्छन्।
रुसी नागरिक रिबाकोवा भन्छिन्, ‘विशेषगरी रोजगारी सुरक्षित गर्ने कुरा आउँदा हामी अनिश्चित समयमा बाँचिरहेका छौँ। धेरै मानिसलाई के हुँदैछ भनेर थाहा छैन। तिनीहरु अझै पनि रेस्टुरेन्टहरुमा जाँदैछन्, काम गर्न जाँदैछन् र अझै धेरै परिवर्तन देखिरहेका छैनन् किनकि तिनीहरुले काम गर्ने कम्पनीहरुले आफ्नो योजनाहरु परिवर्तन गर्छन्। यसका बारेमा स्पष्ट छैन।“
मूल्यवृद्धिले जनजीवन कष्टकर
३० वर्षीया ओल्गा मस्को बैंककी कर्मचारी हुन्। उनी युद्धपूर्वको जीवनस्तर कायम राख्ने प्रयास गरिरहेकी छिन् तर यो झन् कठिन हुँदै गइरहेको छ।
धेरै रुसीहरुजस्तै ओल्गा मस्कोले युरोपबाट आएका एक साथीलाई आफ्नो नेटफ्लिक्स र स्पोटिफाइ रिचार्ज गर्न सोध्नुपरेको छ। किनकि भिसा र मास्टरकार्डले रुसमा आफ्ना सेवाहरु बन्द गरेको छ।
यो महिनाको सुरुमा ओल्गाले छुट्टीमा जान टर्कीका लागि उडान बुक गरिन्। टर्की केही देशहरुमध्ये एक हो, जहाँ उडानहरु अझै सञ्चालनमा छन्।
युद्धअघि विमानको टिकट १५ हजार रुबल लाग्थ्यो तर अहिले सोही टिकटका लागि ५५ हजार रुबल तिर्नुपर्छ।
ओल्गाले आफ्नो आइफोन र म्याकबुक ल्यापटपहरु रुसबाहिर अपडेट गर्न सक्षम हुने प्रार्थना गरिरहेकी छिन्। किनकि एप्पलले पनि देशमा सेवाहरु बन्द गरेको छ।
७९ वर्षीया लुडमिलाले पनि यस्तै कठिनाइहरु सामना गरिरहेकी छन्। लुडमिला रुसी राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणमा पर्ने सहर वोरोनेजमा बस्छिन्। वोरोनेजका लागि आधारभूत आवश्यकताहरु आवश्यक भन्दा बढी भएका छन्। उनी भन्छिन्, ‘म हप्तामा एकपटक बजार जान्छु। हरेकपटक चीजहरु पहिलेभन्दा महँगो हुन्छन्। पछिल्लोपटक दूधको मूल्य ५ रुबल र टमाटरको मूल्य १० रुबलले बढेको छ।’
३३ वर्षीय दिमित्री साइबेरियाको सानो सहर रुब्त्सोभस्कका बासिन्दा हुन्। युद्धअघि उनी राम्रो जीवन व्यतीत गर्थे। उनी एक दिनमा लगभग ३०० रुबल खर्च गर्थे। गत फेब्रुअरी २४ अर्थात युद्ध सुरु भएदेखि उनको खर्च ५० प्रतिशतले बढेको छ।
म्याकडोनाल्ड र लेभिजजस्ता पश्चिमी ब्रान्डहरुले हजारौँ रुसी कर्मचारीलाई देशमा आफ्नो सञ्चालन बन्द गरे पनि भुक्तानी गरिरहेका छन्। तर, त्यहाँ डर छ कि मानिसहरुले आफ्नो जागिर गुमाउनेछन्। किनकि युक्रेनमा युद्धको चाँडो अन्त्यको आशाहरु ओइलाउँदैछन्।
मस्कोका मेयर सर्गेई सोब्यानिनले अप्रिलमा चेतावनी दिएका थिए कि लगभग २ लाख मानिसको जागिर यो सहरमा खतरामा छ। जब कि ट्रेडिङ इकोनोमिक्सले २०२४ सम्म रुसभर बेरोजगारी दर बढेर ७ प्रतिशत हुन पूर्वानुमान गरेको छ।
यसबाहेक आईटीकर्मी र अन्य काममा लागेका मानिस ठूलो मात्रामा पलायन भएका छन्। जसलाई अर्थशास्त्री टिमोथी ऐश ‘ब्रेन ड्रेन’ भनेर वर्णन गर्छन्।
धेरै परामर्शदाताहरुले कामदारहरुलाई रुसबाट बाहिर निकालेका छन्। लाटभियामा आधारित स्वतन्त्र रुसी समाचार वेबसाइट मेदुजाले रिपोर्ट गरेको छ कि यान्डेक्सका ५ हजार कर्मचारीले रुस छोडेका छन्। जो त्यहीँ छन् उनीहरुलाई जीविका चलाउन गाह्रो भइरहेको छ।
टिमोथी भन्छन्, ‘रुसीहरु कठिन परिस्थितिहरुमा अभ्यस्त छन् तर तिनीहरु २० वर्षसम्म समृद्धिमा बाँचे। उनीहरुलाई राम्रो जीवन के हो भनेर थाहा छ।’
जब युद्ध सुरु भयो तब रुस खाना पकाउने तेलजस्ता चीजहरुको अभाव भएको रिपोर्टहरु थिए। तर, अहिले सुपरमार्केटहरु राम्रोसँग भण्डार गरिएको छ। फरक यतिमात्र हो कि यी सामानहरु अहिले पहिलेभन्दा महँगो भएका छन्।
कोरोना महामारीलाई ध्यानमा राख्दै, धेरै देशहरु मूल्यवृद्धिसँग संघर्ष गरिरहेका छन्। तर, संकुचित अर्थतन्त्र र आपूर्ति शृंखला अवरोधका कारण अर्थशास्त्रीहरुले रुसको मुद्रास्फीति २०२२ मा कम्तीमा २० प्रतिशतमा पुग्ने अनुमान गरेका छन्।
राष्ट्रपति पुटिनले संघर्षरत जनताका लागि पेन्सन र बेरोजगारी भत्ताहरु मुद्रास्फीतिसँगै बढ्ने वाचा गरेका छन्। यति ठूलो मात्रामा नाकाबन्दी लगाइए पनि रुसी सरकारले आर्थिक संकटबाट बच्ने व्यवस्था गरेको छ। जुन कुनै पनि जीवनरेखाभन्दा कम छैन। रुसले अझै पनि धेरै तेल र ग्यास विश्वभर बेचिरहेको छ। जुन यो देशको अर्थतन्त्रको प्रमुख स्तम्भ हो।
रुसको केन्द्रीय बैंकको तथ्यांकअनुसार रुसले २०२२ को पहिलो तीन महिनामा ५८.२ अर्ब डलरको सामान र सेवाहरु निर्यात गर्यो। रुसको आयातभन्दा निर्यात बढी रहेको छ। विश्वमा ऊर्जाको मूल्य बढ्दा रुसले फाइदा उठाएको छ।
अमेरिकाले रुसबाट ऊर्जा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरे पनि रुसको आपूर्तिमाथिको निर्भरता कसरी घटाउने भन्नेमा युरोपको फरक मत छ।
युरोपले आफ्नो प्राकृतिक ग्यासको करिब ४० प्रतिशत रुसबाट पाउँछ। योसँगै रुसले पनि युरोपलाई तेल बेच्ने गरेको छ। युरोपका केही देश अरुहरुभन्दा रुसी जीवाश्म इन्धनमा बढी निर्भर छन्। त्यसकारण अचानक आपूर्ति कटौतीले यी देशहरुमा ठूलो आर्थिक प्रभाव पार्न सक्छ।
‘यसमा कुनै शंका छैन कि युरोपलाई रुसी तेल र ग्यासबाट टाढा जान केही वर्ष गाह्रो हुनेछ तर यसले भविष्यमा रुसी अर्थतन्त्रका लागि धेरै हानिकारक हुनेछ’, एसईबी बैंकका ऊर्जा विश्लेषक ओले ह्वाल्बीले भने।
अर्थशास्त्री टिमोथी भन्छन्, ‘रुसका लागि तत्काल गरिबहरुलाई सहुलियत दिन र रुबललाई स्थिर राख्न पर्याप्त आर्थिक शक्ति हुन सक्छ तर भविष्य धेरै अनिश्चित छ।’ –बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago